जनकपुरधाम,वैशाख १४ गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा प्रमाणसहित आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

आइतबार नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री यादवले लिङ्देनलाई भाटभटेनी लुटपाट प्रकरणमा संलग्न भनिएको सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न आग्रह गर्दै स्पष्ट चेतावनी दिएका हुन् । “चैत १५ गतेको घटनामा कुन सहमहामन्त्रीको छोरा थियो ? तस्वीर सार्वजनिक गर्नुस् । होइन भने हामी सहमहामन्त्रीहरू तपाईँविरुद्ध अदालत जान्छौँ,“ यादवले भने ।

गत शुक्रबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष लिङ्देनले भाटभटेनी घटनामा कांग्रेसका सहमहामन्त्रीको छोरा पक्राउ परेको र गृहमन्त्रीको आदेशमा तत्काल रिहा गरिएको दाबी गरेका थिए । सो अभिव्यक्तिपछि केही मिडियामा सहमहामन्त्री यादवका छोरा मुकेश यादव संलग्न रहेको खबरसमेत आएका थिए ।

तर सहमहामन्त्री यादवले आफ्ना छोराहरू डा. आकाश यादव र डा. विकास यादव मात्रै रहेको प्रष्ट पार्दै, लिङ्देनको अभिव्यक्तिले चरित्र हत्या गरेको भन्दै अदालत जाने तयारीमा रहेको बताएका छन् । उनले प्रतिनिधिसभामा गलत सूचना प्रवाह गरी जनता र संसदलाई भ्रमित गर्ने प्रयास भएको आरोपसमेत लगाए ।

यादवले राप्रपाले अवास्तविक आदर्श र एजेन्डा अघि सारेर जनतालाई भ्रममा पार्न खोजेको आरोपसमेत लगाए । यसैबीच, लिङ्देनको अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेसले मधेश प्रदेशका आठै जिल्लामा आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ ।

पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य राम सरोज यादव, कुमार कान्त झा, जिल्ला सभापति योगेन्द्र पन्जियार, प्रदेश समिति सदस्य जिवनाथ चौधरी, राजकिशोर यादव, बजरंग यादवलगायतको उपस्थिति रहेको थियो ।