सिरहा, वैशाख १४ गते । लहानस्थित सहिद पार्कमा रहेको मधेश आन्दोलनका सहिदहरूको सालिकको सम्मानजनक व्यवस्थापन गर्न जनता समाजवादी पार्टी (जसपा) लहानले माग गरेको छ। सहिद रमेश महतो, विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको सालिकलाई उचित स्थानमा सार्न माग गरिएको हो।

लहान नगर अध्यक्ष राम उदगार महतोले आइतबार पत्रकार सम्मेलन गरी २०८० जेठ २९ गते लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सहिद पार्कबाट दुई सय मिटर दक्षिणतर्फ तरकारी बजार नजिकै सालिक सार्ने सहमति भएको जानकारी गराए।

उनका अनुसार सहमतिअनुसार प्रस्तावित स्थानमा स्थानीयहरूले हनुमान मन्दिर र मूर्ति स्थापना गरिसकेकाले अहिले सहिद सालिकलाई अपमानजनक रूपमा अन्यत्र सार्ने प्रयास उचित नहुने जसपाको निष्कर्ष छ। यदि सहिद सालिकलाई अनादरपूर्ण ढंगले अन्यत्र राख्ने प्रयास गरिए त्यसलाई अस्वीकार गर्ने चेतावनी पनि उनले दिएका छन्।

यस विषयमा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले सहमतिको आधारमा हनुमान मन्दिरको दक्षिणपट्टि सालिक राख्न पहल भइरहेको र विकास कार्यमा बाधा नआउने गरी उचित व्यवस्थापन गरिने स्पष्ट पारेका छन्।

यता, कञ्चनपुर–कमला सडकखण्ड अन्तर्गत कुशहा–कमला सडक विस्तार कार्यका लागि मिर्चैयामा ओभरपास निर्माण भइरहेका छन्। सडक विभाग मिर्चैयाका सूचना अधिकारी इन्जिनियर सरोज कोइरालाका अनुसार २४ वटा पाइल फाउन्डेसनमध्ये हालसम्म १६ वटा निर्माण भइसकेका छन्।

तर लहानको मुख्य चोकमा रहेको सहिद पार्क हट्न नसक्दा उक्त क्षेत्रमा एउटा पनि पाइल फाउन्डेसनको काम सुरु हुन सकेको छैन। सहिद पार्क खाली नभए निर्माण कार्यमा थप ढिलाइ हुने भन्दै सडक विभागले लहान नगरपालिकाको ध्यान निरन्तर आकृष्ट गराइरहेको जनाएको छ।

कुशहा–कमला ४७।४१ किलोमिटर सडकखण्डमा हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको सूचना अधिकारी कोइरालाले जानकारी गराएका छन्।