एजेन्सी, वैशाख १४ गते । आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको सम्बन्ध दशकौँकै न्यूनतम स्तरमा पुगेका बेला काश्मीरमा लगातार तेस्रो रात पनि दुबै देशका सेनाबीच गोली हानाहान भएको छ। अधिकारीहरूले आइतबार घटनाको पुष्टि गरेका छन्।

भारतले पाकिस्तानमाथि मुस्लिम बहुल विवादित काश्मीर क्षेत्रमा नागरिकहरूमाथि भएको पछिल्लो समयको सबैभन्दा खराब आक्रमणमा ‘सीमापार आतङ्कवाद’लाई समर्थन गरेको आरोप लगाएको छ। इस्लामाबादले भने कुनै संलग्नता अस्वीकार गर्दै भारतका आरोपहरूलाई ‘तुच्छ’ भनेको छ र भारतीय कार्यवाहीको जवाफ दिने चेतावनी दिएको छ।

भारतीय सुरक्षा बलहरूले अप्रिल २२ मा काश्मीरको पहलगामस्थित एक पर्यटकीय क्षेत्रमा २६ व्यक्तिको ज्यान लिएको आक्रमणपछि फरार आक्रमणकारीहरूको खोजी तीव्र पारेका छन्। प्रहरीले फरारमध्ये दुई जना पाकिस्तानी नागरिक भएको दाबी गरेको छ।

भारतीय सेनाले आइतबार नियंत्रण रेखा ९एलओसी० मा पाकिस्तानतर्फबाट साना हतियारबाट अनावश्यक गोलीबारी भएको जनाएको छ। सेनाका अनुसार भारतीय सुरक्षाफौजले पनि ‘उपयुक्त जवाफी कारबाही’ गरेको छ। यद्यपि पाकिस्तानले पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन।

यस आक्रमणपछि भारतले पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि स्थगित गरेको, मुख्य भूमि सीमा नाका बन्द गर्ने र पाकिस्तानी नागरिकका लागि भिसा रद्द गर्ने निर्णय गरेको छ। जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्दै, सिख तीर्थयात्री बाहेक सबै भारतीय नागरिकका लागि भिसा रद्द गरेको र आफ्नो सीमा नाका बन्द गरेको छ।

संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई ‘अधिकतम संयम’ अपनाउन र मुद्दाहरू आपसी संवादमार्फत शान्तिपूर्ण समाधान गर्न आह्वान गरेको छ।