जनकपुरधाम, वैशाख १४ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले विश्वमा आतंकवादको अन्त्य अपरिहार्य रहेको बताएका छन्। महोत्तरीको गौशालामा आयोजित कार्यक्रममा सहभागी हुँदै उनले भारतमा हालै भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका एक नेपाली सहित २४ जना नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरे।

मन्त्री भण्डारीले घटनामा संलग्न अपराधीहरूमाथि कडा कारबाही गर्न भारतीय सरकारसँग आग्रह गरे। साथै, धर्म, जात, लिङ्ग र समुदायभन्दा माथि उठेर एकताको सन्देश फैलाउँदै आतंकवाद विरुद्ध सम्पूर्ण मानव समाज एकजुट हुनुपर्नेमा जोड दिए।

उनले नेपाल र भारतबीच सहकार्यलाई थप बलियो बनाउँदै नेपाललाई आर्थिक र सामाजिक विकासतर्फ अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भण्डारीले मधेश आन्दोलनको चर्चा गर्दै, २०७२ सालमा नौ महिना लामो मधेश आन्दोलन विश्वकै ऐतिहासिक आन्दोलनमध्ये एक हो, भन्दै मधेसी जनताको अधिकारका लागि गरिएको संघर्ष सम्झिए।

चुनावी समयमा मधेशको मुद्दालाई मात्र प्रयोग गरी, चुनावपछि भने मधेशका हकहितलाई बेवास्ता गर्ने नेताहरूलाई उनले कटाक्ष गरे।

साथै, मन्त्री भण्डारीले रोजगार सूचना केन्द्रलाई अझ व्यवस्थित बनाउने योजना रहेको जानकारी दिए। उनका अनुसार अब केही महिनाभित्रै देश तथा विदेशका रोजगारीका अवसरहरू ‘नागरिक एप’मार्फत सजिलै सार्वजनिक गरिनेछ।