जनकपुरधाम,वैशाख १५ गते । नेपाली कांग्रेसका सह महामन्त्रीका छोरा पक्राउ गरी बिना कारबाही छोडिएको“ भन्ने समाचार विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित भएकोप्रति जिल्ला प्रहरी परिसर काठमाण्डौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक अपिल राज बोहराले आइतबार एक विज्ञप्ति जारी गर्दै, सम्बन्धित व्यक्तिलाई परिसर वा मातहत कुनै पनि कार्यालयबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “तीनकुने घटनामा संलग्न भनी कुनै नेपाली कांग्रेसका नेताका छोरालाई नियन्त्रणमा लिएको र त्यसलाई बिना कारबाही छोडिएको भन्ने समाचार पूर्णतः निराधार र भ्रामक छन् ।“

प्रहरी परिसरले यस्ता आधारहीन समाचारप्रति सर्वसाधारणमा भ्रम सिर्जना नगर्न र आधिकारिक सूचना बिना तथ्यहीन प्रचारप्रति सतर्क रहन आग्रह गरेको छ ।