जनकपुरधाम, वैशाख १५ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले शिक्षकहरूको आन्दोलनको समग्र जिम्मेवारी सरकार मात्र होइन, सरकार सञ्चालन गरेका सम्पूर्ण नेतृत्वले लिनुपर्ने बताएका छन् । जनकपुरधामस्थित लोसपाको नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारलाई दोष मात्र दिएर नेताहरू उम्किन नसक्ने बताएका हुन् ।

उनले हाल शिक्षकहरू सडकमा उत्रिएको प्रसङ्ग उठाउँदै आन्दोलन सिर्जनाको जिम्मेवारी अघिल्ला तथा वर्तमान सबै सरकारले संयुक्तरूपमा लिनुपर्ने बताए । “सरकारमाथि आलोचना गर्नु स्वाभाविक हो, तर दोषमात्र थोपरेर जिम्मेवारीबाट पलायन हुने छुट कसैलाई छैन,“ अध्यक्ष ठाकुरले प्रष्ट पारे ।

शिक्षाको क्षेत्रमा निजी संस्थाको योगदानप्रति जोड दिँदै उनले केवल सामुदायिक विद्यालयको भरमा सबै नागरिकलाई शिक्षित बनाउन नसकिने तर्क प्रस्तुत गरे । “निजी विद्यालय नभएको भए हाम्रो शिक्षा क्षेत्रको अवस्था आजभन्दा धेरै दयनीय हुन्थ्यो,“ उनले प्रश्न गर्दै भने, “के सामुदायिक विद्यालयको भरमा हामी सबैलाई गुणस्तरीय शिक्षा दिन सक्छौँ?“

त्यस्तै, उनले देशमा पानी र स्वास्थ्य सेवाको चरम अभाव रहेको उल्लेख गर्दै निजी क्षेत्रको योगदान अपरिहार्य रहेको संकेत गरे । “आज पनि यदि निजी ट्याङ्कर सेवा नभएको भए राजधानीदेखि गाउँसम्म पानीको किल्ला कति भयावह हुन्थ्यो,“ अध्यक्ष ठाकुरले टिप्पणी गरेका थिए ।

स्वास्थ्य र शिक्षालाई विकासको आधारस्तम्भको रूपमा चित्रण गर्दै उनले भने, “स्वस्थ र शिक्षित नागरिक मात्र आफ्नो खुट्टामा उभिन सक्छ र राष्ट्र निर्माणमा योगदान गर्न सक्छ । अशिक्षा र अस्वस्थता राष्ट्रको दिगोपनका लागि ठूलो चुनौती हो ।“

अध्यक्ष ठाकुरले देशको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति र सरोकारवालाहरूले आपसी समझदारी, सहकार्य र साझा प्रतिबद्धताको बाटो समात्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “देश बनाउने सपना व्यक्तिले होइन, सबै मिलेर मात्रै साकार हुन्छ,“ उहाँले जोड दिनुभयो।