जनकपुरधाम,वैशाख १५ गते । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले २७ दिनदेखि जारी शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमनलाई लोकतान्त्रिक मुलुकका लागि अत्यन्त दुर्भाग्यपूर्ण र दुःखद् रहेको बताएका छन् ।

शिक्षकहरूद्वारा काठमाडौंमा आयोजित आन्दोलनमा प्रहरी प्रशासनले गरेको अत्यधिक बल प्रयोग र हस्तक्षेपका कारण पाँच दर्जनभन्दा बढी शिक्षक तथा पत्रकार घाइते भएको घटनाप्रति अध्यक्ष महतोले घोर भर्त्सना गरेका छन् ।

उनले राज्य आतंक र दमनकारी कार्यलाई अस्वीकार्य भन्दै सामुदायिक विद्यालयमा अध्ययनरत लाखौं विद्यार्थीहरूको भविष्य संकटमा परेको र सरकारले समस्या समाधानमा कुनै गम्भीरता नदेखाएको आरोप लगाए । शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग गर्नु सरकारको निरंकुशता र अत्याचारको स्पष्ट प्रमाण भएको उनको टिप्पणी थियो ।

“समाजलाई अन्धकारबाट मुक्त गर्ने शिक्षकहरू एक्ला छैनन्,“ अध्यक्ष महतोले भने, “उहाँहरूको न्यायोचित मागको समर्थनमा सम्पूर्ण न्यायप्रेमी जनता उभिएका छन् । सरकारले शिक्षकहरूलाई निरीह ठान्ने भूल नगरोस् र यथाशीघ्र माग सम्बोधन गरोस् ।“ साथै, उनले घाइते शिक्षक तथा पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् ।

अध्यक्ष महतोले शिक्षकहरूको आन्दोलनले एउटा गम्भीर प्रश्न उठाएको पनि औंल्याए । आन्दोलनमा सहभागी धेरैजसो शिक्षकहरू वर्तमान सत्तारुढ दलहरूसँग आबद्ध रहे पनि आफ्ना हकहितका लागि संघर्ष गर्नुपर्ने अवस्था आएकोप्रति उनले चिन्ता व्यक्त गरे । “सरकार आफैं आफ्ना कार्यकर्ताको माग सम्बोधन नगरी दमनमा उत्रेको छ भने या त आन्दोलन छोड्नुपर्ने वा दलिय आवद्धता परित्याग गर्नुपर्ने द्विविधा उत्पन्न भएको छ,“ उनले भने ।

महतोले शिक्षाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत व्यक्तिहरूमाथि जनमानसमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै, आन्दोलनरत पक्षका न्यायोचित माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।