जनकपुरधाम,वैशाख १९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा एक कार्यक्रमका बीच दुई कोठे सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख साहले ग्रामीण भेगको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिका लागि यस्तो संरचना आवश्यक रहेको बताएका छन ।

उनले स्थानीयस्तरमै सुविधा सम्पन्न भवन निर्माण भएसँगै यहाँका बासिन्दालाई आफ्ना गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे । उपमहानगरपालिकाको कुल ५० लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको उक्त भवनले स्थानीय समुदायलाई विविध सामाजिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ ।

वडा नं. १२ का अध्यक्ष महेन्द्र साहले भवनको निर्माणपछि वडावासीहरूलाई सामुदायिक कार्य सञ्चालन गर्न ठुलो राहत पुग्ने बताए । उक्त भवन निर्माण सम्पन्न भएपछि वडा नंं. १२ लगायत आसपासका बस्तीका बासिन्दालाई सामूहिक कार्यक्रम, सभा तथा सामाजिक कार्य सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

उपभोक्ता समिति मार्फत भवन निर्माण कार्य सुरु गरिएको छ र यो कार्य चालु आर्थिक वर्षको मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको समितिका सचिव सुशिल कुमार साहले जानकारी दिएका छन ।