जनकपुरधाम, २० वैशाख । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित एमालेको धनुषा आठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातीको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौं, र पराजित गर्छौं ।’

उनले पूर्वराजाको नाममा पुनःसत्तामा फर्कने चाहना बोकेका तत्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे । ‘पूर्वराजा नागरिक हुन् । यदि उनलाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन,’ पोखरेलले भने ।

पोखरेलले नेपाली कांग्रेससँगको सहकार्यको सन्दर्भमा व्यंग्यात्मक शैलीमा भने, ‘कांग्रेससँग अहिले हाम्रो सम्बन्ध मादल र हार्मोनियमजस्तो छ । मिठास त छ । तर, ताल पनि अलग–अलग । हामी सहकार्य गर्छौं । तर, प्रतिस्पर्धा बिर्सिन्नौं ।’ उनले सहकार्य र प्रतिस्पर्धा दुबैलाई सन्तुलनमा राख्दै संविधानको मूल मर्मलाई अघि बढाउनु पर्ने बताए ।

पोखरेलले विगत पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक प्रणालीबीचको तुलना गर्दै व्यापक विकास भएको दाबी गरे । ‘पञ्चायतमा २५ हजार किलोमिटर सडक थियो । अहिले १ लाख १० हजार किलोमिटर पुग्यो । शिक्षा, स्वास्थ्य, सञ्चार र भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ । जनतालाई तथ्यका आधारमा बुझाउनु अहिलेको प्रमुख कार्य हो,’ पोखरेलले भने ।

कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज जुली कुमारी महतो, उमाशंकर अरगरीया, हरिनारायण महतोलगायत नेताहरूले मधेशको विकास, समृद्धि र राष्ट्रिय अखण्डताका लागि एमालेको नेतृत्व अपरिहार्य भएको धारणा राखे ।

लीलानाथ श्रेष्ठले सुनकोशी–कमला डाइभर्सन आयोजना र चुरे संरक्षणको माग प्रधानमन्त्रीसमक्ष राखिएको जानकारी दिए । महासेठले शिक्षा, स्वास्थ्य, पूर्वाधार र गरिबी निवारणमा एमाले सरकारको भूमिका निर्णायक रहेको बताए ।

अधिवेशनको अन्तिम दिन नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने अधिवेशनमा ६५० प्रतिनिधिहरू सहभागी छन् । अधिवेशनले पाँच प्रमुख पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

जिल्ला अध्यक्षको दौडमा वर्तमान अध्यक्ष राजकिशोर यादवसँगै उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव र सन्तोष यादवको आकांक्षा देखिएको छ । यादव कांग्रेस त्यागेर एमाले प्रवेश गरेका नेता हुन् ।

पार्टी नेतृत्वले अधिवेशनलाई लोकतान्त्रिक अभ्यासको रूपमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे पनि आकांक्षीहरूको बढ्दो सक्रियता र गुटगत गोलबन्दीले प्रतिस्पर्धा चर्किने सम्भावना देखिएको छ ।