जनकपुरधाम, २० वैशाख । तराई मधेशलाई उत्तर–दक्षिण जोड्ने महत्वपूर्ण योजना हुलाकी सडक अन्तर्गत कमला नदीमाथिको पुल आजसम्म पनि अधुरो छ । १३ वर्षअघि सुरु गरिएको पुल निर्माण अझै अपूरो हुनु न केवल विकासको सुस्त गतिलाई देखाउँछ, बरु राज्य र निर्माण कम्पनीको असक्षमता तथा जनचासोप्रति उदासीनताको जीवित उदाहरण बनेको छ ।

सिरहा र धनुषा जिल्लाको सीमा क्षेत्रमा पर्ने कमला नदीमाथिको पुल जनकपुरदेखि सीमावर्ती भारतीय बजारसम्म सहज पहुँच दिने ‘लाइफलाइन’ हो । तर, अहिले त्यो नै जनताका लागि बाधा, जोखिम र पीडाको कारण बनेको छ ।

यो पुलको निर्माण १३ वर्षअघि सुरु गरिएको हो । सुरुमा जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन ढिलासुस्ती र गुणस्तरहीन निर्माणका कारण कालोसूचीमा पर्यो । त्यसपछि ठेक्का पाएको लुम्बिनी बिल्डर्सले पनि पुल अधुरै छाडेको छ ।

योजना प्रमुख कृष्णकुमार महतोका अनुसार कम्पनीले २०८२ असारभित्र काम सम्पन्न गर्ने सर्तमा काम गरिरहेको थियो । तर, एक महिनादेखि काम रोकिएको छ । म्याद थपका लागि निवेदनसमेत आएको छैन । उनले भने, ‘सम्झौता पालना नभएकोले कानुनी सल्लाहसहित ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइएको छ ।’

२०७८ सालको बाढीले पुलको दुई पायाँ भासिएपछि पुनर्निर्माणका लागि लुम्बिनी बिल्डर्सले जिम्मा पायो । तर, साइट इन्चार्ज सुदीप थापाका अनुसार बाढीले भएको क्षतिप्रति ८ करोड रुपैयाँ बिमा कम्पनीबाट नपाएको कारण आर्थिक संकट आइपरेको हो ।

‘हामीले क्षतिपूर्ति नपाउँदासम्म काम अघि बढाउन सक्दैनौं । मुद्दा अहिले अदालतमा विचाराधीन छ,’ थापाले स्पष्ट पारे । तर, यसले जनताको जीवनमा परेको प्रभाव भने कुनै अदालतले भ्याल्व राखेर रोकिदिएको छैन ।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादव भन्छन्, ‘पुल नहुँदा काठेपुल वा डुङ्गामै भर पर्नुपरेको छ । जनकपुर जान तीन घण्टा लामो घुमाउरो बाटो वा भारतको जयनगर हुँदै जानुपर्ने बाध्यता छ ।’

हुलाकी सडक राष्ट्रिय गौरवको आयोजना हो । यो सडक राजधानी जनकपुरसँग छोटो दुरीमा जोडिन्छ र मधेशको भौगोलिक तथा सामाजिक जोडाइका लागि अपरिहार्य मानिन्छ । तर, कमला नदीमाथिको पुल अधुरो हुँदा जनताको झिनामसिना समस्या मात्र नभई मूलभूत अधिकारमै असर परेको छ ।

उद्घाटनको पर्खाइमा रहेका खण्डहरजस्ता अधुरा संरचना देखेर आमनागरिकको सरकारप्रतिको विश्वास खस्कँदै गएको छ ।