जनकपुरधाम,वैशाख २१ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नगर प्रमुख सुकदेव यादवको एकलौटी शासकीय शैली र कानुनविपरित गतिविधिको विरोधमा नगर उपप्रमुख, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् । आइतबार बुझाएको ज्ञापनपत्रमा उल्लेख अनुसार नगर प्रमुखले ऐन, कानुन मिच्दै कार्यालयमा एकलौटी रुपमा काम गर्दै आएको, समन्वयविहीन तरिकाले निर्णयहरू लिँदै कार्यपालिका सदस्यहरूलाई ओभरटेक गर्दै आएको आरोप लगाइएको छ ।

उपप्रमुख रचना श्रेष्ठको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले प्रस्तुत गरेको ज्ञापनमा भनिएको छ कि उपप्रमुख न्यायिक समितिको संयोजक भए पनि उनलाई न्याय सम्पादनका लागि आवश्यक कर्मचारी नदिइएको, नगर प्रमुख र प्रशासकीय अधिकृतले कुनै पनि विषयमा उपप्रमुखसँग छलफल नगरी एकलौटी रूपमा कार्यालय सञ्चालन गरिरहेको अवस्था रहेको छ। अझै पनि चालु आर्थिक वर्षको दस महिना बितिसक्दासमेत वडाहरूमा कार्यालय सञ्चालन खर्च नपठाइएको, योजना निर्माण र कार्यान्वयन प्रक्रियामा उपप्रमुख र वडाध्यक्षहरूलाई बेखबर राखिएको गुनासो गरिएको छ ।

नगरसभा निर्णयहरू समेत कार्यान्वयनमा जान नसकेको, नगर प्रमुखले उपभोक्ता समिति गठन गर्ने प्रक्रिया पनि ऐन विपरित अघि बढाएको, करारका कर्मचारीहरू कानुनविपरित भर्ना गरिएको, लोकसेवा आयोगबाट आएका कर्मचारीलाई हाजिर हुन नदिएको र पहिलेदेखि कार्यरत कर्मचारीहरूलाई अवैधानिक रूपमा हटाइएको, यहाँसम्म कि अदालतले दिएको आदेशको समेत अवज्ञा गरिएको उल्लेख गरिएको छ ।

नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखबीचको मिलीभगतले स्थानीय सरकार सञ्चालन ऐनको निरन्तर उल्लंघन भइरहेको भन्दै, यस्तो बेथिति तत्काल रोक्न प्रशासनलाई हस्तक्षेप गर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारका मन्त्रालयहरू र कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषालाई समेत बोधार्थ पठाइएको छ । स्थिति सहज नभएपछि, नगरका निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशासनको ढोका ढक्ढक्याउन बाध्य बनाएको यो घटना स्थानीय तहमा शक्ति सन्तुलनको गम्भीर प्रश्नका रूपमा हेरिएको छ ।