जनकपुरधाम,वैशाख २१ गते । मधेश आन्दोलन लगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले आइतबार मधेश प्रदेश सरकारअन्तर्गतको गृह मन्त्रालय घेराउ गरेका छन् । ’एक शहीद परिवार, एक रोजगार’ कार्यक्रमअन्तर्गत दिइएको रोजगार खोस्ने तयारी गरिएको भन्दै उनीहरूले कडा आक्रोश व्यक्त गरेका छन् ।

शहीद परिवारका सदस्यहरूले मन्त्रालयमा आफ्नो आवाज नपुगेको, शहीद परिवारसँग मन्त्रीहरू भेट्न समेत नआउने रवैयाले आफूहरू अपमानित महशुस गर्नुपरेको गुनासो गरेका छन् । उनीहरूको आरोप अनुसार, हाल कतिपय शहीद परिवारका सदस्यलाई डोर हाजिरी र ज्यालादारीमा राखिए पनि नियमित रूपमा तलब दिइएको छैन । बलिदानी दिवसमा स्वास्थ्य बीमा कार्यान्वयन गरिने आश्वासन दिइए पनि त्योसमेत अहिलेसम्म पूरा नभएको उनिहरुको गुनासो छ ।

शहीद परिवारका सदस्य अवधेश प्रसादले रामनरेश यादवको शंकास्पद मृत्युको विषयमा अझै सत्य तथ्य सार्वजनिक नगरिएकोप्रति उनीहरूले गम्भीर आपत्ति जनाए । यादव मधेशी शहीद प्रतिष्ठानको आवास क्षेत्रमा कार्यरत रहँदाको अवस्थामा निधन भएको उनको भनाई थियो । उनका अनुसार, यस विषयमा स्पष्ट जानकारी माग्दा मन्त्रालयले बेवास्ता गर्दै आएको छ ।

शहीद परिवारका आन्दोलनरत सदस्यहरूले गृह मन्त्रालयलाई चेतावनी दिँदै भने्, “हाम्रो माग सम्बोधन हुने स्पष्ट आश्वासन नआएसम्म धर्ना जारी रहन्छ ।“

यता मधेश प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री राजकुमार लेखीले भने शहीद प्रतिष्ठान गठन भए पनि अघिल्ला सरकारहरूले कुनै प्रभावकारी कार्य नगरेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारले विगत तीन महिनादेखि योजनाबद्ध रूपमा काम थालनी गरिरहेको र केही ढिलाइ भए पनि शहीद परिवारको समस्या समाधान गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको बताए ।