जनकपुरधाम, बैशाख २२ गते । जनकपुरधामस्थित सिक्स लेन सडक अन्तर्गत फुटपाथ साइडमा पर्ने डिभाइडरमा केही व्यक्तिहरूले तरकारी खेती गर्न थालेका छन् । सरकारी निकायको बेवास्ताका कारण सार्वजनिक संरचना निजी प्रयोजनका लागि प्रयोग भइरहे पनि सम्बन्धित निकायहरू भने अनभिज्ञ देखिएका छन् ।

मुजेलिया क्षेत्रको डिभिजन सडक कार्यालयअगाडिको डिभाइडरमा यस्ता गतिविधि खुलेरै भइरहेका छन् । सार्वजनिक वृक्षारोपण वा सौन्दर्यकरणको जिम्मा पाएको निकायले डिभाइडरलाई अलपत्र छाडेपछि केही स्थानीयले उक्त स्थानलाई तरकारी खेतीका लागि प्रयोग गरिरहेका छन् । कैयौँ स्थानमा गोलभेंडा, साग, फर्सी र अन्य तरकारीका बोटहरू उम्रेको प्रस्ट देखिन्छ ।

यस्तै, बुलेट मोटरसाइकल सोरुमको छेउमा पर्ने डिभाइडरमा भने फूल खेती गरिएको छ । बाटोको छेउमा हुने यस्ता हरियाली प्रयास देख्दा सतही रूपमा सकारात्मक लाग्न सक्ने भए पनि यसले सार्वजनिक सम्पत्तिको दुरुपयोग र राज्य प्रणालीको कमजोरी उजागर गरिरहेको छ ।

तरकारी खेतीका विषयमा जब डिभिजन वन कार्यालय जनकपुरधामका प्रमुख विनोद सिंहसँग प्रतिक्रिया माग्दा उनले आफूलाई यस्ता गतिविधिबारे जानकारी नरहेको बताए । “डिभाइडरको बिच भागमा भने वन कार्यालयले वृक्षारोपण गरेको हो,“ उनले भने, “फुटपाथ साइडको डिभाइडरमा भने सडक डिभिजनले वृक्षारोपण गरिरहेको बुझिएको छ । तर, त्यहाँ तरकारी खेती भइरहेको विषयमा मलाई थाहा छैन ।“

जनकपुरकधामको मुख्य सहरभित्र सार्वजनिक सडकमा यति सजिलै व्यक्तिगत खेती हुनुले सरकारी निगरानी प्रणाली कमजोर रहेको स्पष्ट हुन्छ । सम्वन्धित निकायहरूको समन्वय अभावका कारण यस्ता संरचनाहरू दुरुपयोगमा पर्न थालेका छन् ।

अब डिभाइडरको सदुपयोग, हरियाली विकास र सौन्दर्यकरणका लागि सम्वन्धित निकायहरूले समन्वय गरेर तुरुन्त कदम चाल्नु आवश्यक देखिन्छ । सार्वजनिक संरचनाको संरक्षण र सदुपयोगमा सरकारी संयन्त्र जिम्मेवार बन्न सके मात्रै यस्ता गतिविधिमा रोक लाग्न सक्नेछ ।