जनकपुरधाम, वैशाख २२ गते । जगतगुरु रामभद्राचार्यले नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् ।

सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्न आएका चित्रकूट तुलसीपीठाधीश्वर तथा जगतगुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्यले नेपाल हिन्दु राष्ट्र रहेको ऐतिहासिक पृष्ठभूमिलाई नष्ट गरेर धर्म परिवर्तनको खेल भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

“एउटै मात्र रहेको हिन्दु राष्ट्र नेपाललाई राजनीतिक नाममा बर्बाद गरियो,” उनले भने, “नेपाल र भारत दुबै हिन्दु राष्ट्र हुनुपर्छ ।” उनले इसाई र मुस्लिम समुदायद्वारा नेपालमा भइरहेको धर्मान्तरणप्रति आपत्ति जनाउँदै हिन्दुहरूको संस्कृति र पहिचान जोगाउन हिन्दु राष्ट्र घोषणा अपरिहार्य भएको बताए।

जानकी नवमीको अवसरमा जनकपुरधाममा आयोजित विशेष धार्मिक कार्यक्रममा सहभागी हुन आएका रामभद्राचार्यले जनकपुर भगवान रामको सम्धीयाना भएको पवित्र भूमि भएकाले यहाँ आउँदा आफू सधैं हर्षित हुने बताए। “जनकपुर मेरो लागि धार्मिक तथा आध्यात्मिक तीर्थ हो, म जीवनभर यहाँ आउँछु,” उनले भावुक हुँदै भने ।

उनले हाल हिन्दु समुदायमाथि विभिन्न ठाउँमा आक्रमण भैरहेको उल्लेख गर्दै हिन्दुहरूलाई संगठित र जागरूक हुन आह्वान गरे ।

जानकी नवमीको अवसरमा मंगलबार बिहान जनकपुरधामस्थित दुधमती नदीमा शाही स्नान तथा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । यस अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।