जनकपुरधाम, वैशाख २५ गते । नेपाल भारत खुला सिमा संवाद समूहले भारत सरकारले हालै पाकिस्तानका नौ स्थानमा सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ मा पूर्ण समर्थन प्रकट गरेको छ ।

समूहका अध्यक्ष डा. राजीव झाले विज्ञप्ती जारी गर्दै भारतीय सुरक्षाफौजद्वारा आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप गरिएका लक्षित कारबाही सम्पूर्ण मानवता र शान्तिका लागि गरिएको कदम को रुपमा रहेको बताएका छन् ।

जारी विज्ञप्तीमा आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी आक्रमण योजनामा संलग्न रहेको उल्लेख गर्दै “आतंकवाद कुनै राष्ट्र, धर्म वा समुदायको पक्षमा होइन—यो सम्पूर्ण मानव जातिका लागि खतरा हो,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले नेपाल सरकारले पनि भारतीय सुरक्षाबलद्वारा चालिएको यस कारबाहीप्रति समर्थन जनाउनुपर्छ ।”

समूहले भारतको यस स्पष्ट र निर्णायक कदमको प्रशंसा गर्दै सम्पूर्ण दक्षिण एशिया अब शान्ति, स्थायित्व र सुरक्षाको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।