जनकपुरधाम, वैशाख २७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै भारतप्रति दृढ ऐक्यबद्धता जनाएका छन् ।

शनिबार जारी विज्ञप्तिमा उनले एक नेपाली नागरिकसहित २६ निर्दोष नागरिकको मृत्यु भएको उक्त घटनालाई अत्यन्त दुःखद भन्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

मुख्यमन्त्री सिंहले भनेका छन्, “भारत सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि लिँदै आएका साहसी निर्णयहरू आवश्यक छन्। जब कुनै राष्ट्र बारम्बार आतङ्कवादको निशानामा पर्छ, त्यस्तो अवस्थामा प्रतिकार गर्नु केवल अधिकार मात्र होइन, दायित्व पनि हो ।”

उनले आतङ्कवादविरुद्धको लडाइँ सम्पूर्ण मानवताको साझा संघर्ष भएको उल्लेख गर्दै भारतको प्रयासप्रति समर्थन जनाएका छन् ।

विज्ञप्तिमा मधेश प्रदेशका जनता सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिने बताउँदै भारतसँगको आत्मीय सम्बन्धलाई पुनः स्मरण गरिएको छ ।

मुख्यमन्त्री सिंहले भनेका छन्, “हाम्रो प्रदेशले पनि विगतमा अनेकौँ पीडा र सङ्घर्ष भोगेको छ, त्यसैले हामी भारतका जनताको पीडामा गहिरो आत्मीयता महसुस गर्छौं ।”

आतङ्कवादको कुनै जात, धर्म वा सिमाना नहुने भन्दै उनले यस्ता कायरतापूर्ण आक्रमणहरूलाई मानवता विरुद्धको अपराधको संज्ञा दिएका छन्। “आजको समयमा चुप लाग्नु होइन, सत्यको पक्षमा दृढतापूर्वक बोल्न आवश्यक छ। आतङ्कारीलाई मौन साथ होइन, खुलेर प्रतिकार गर्नुपर्छ,” उनले भने ।

मुख्यमन्त्री सिंहले अन्त्यमा भने, “मधेश भारतको साथमा सधैं रहनेछ ।”