द न्यूज होम
जनकपुरधाम, वैशाख २७ गते । भारत–पाकिस्तानबीच बढ्दो तनावको असर नेपाल–भारत सीमाक्षेत्रमा पनि देखिन थालेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले सीमामा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएपछि धनुषालगायतका सीमावर्ती क्षेत्रमा कडाइ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, सीमामा यात्रुको परिचय पत्र प्रमाणीकरण गर्ने, आवतजावतको प्रयोजन र सवारीसाधनको रेकर्ड राख्ने कार्य तीव्र पारिएको छ ।

भारत–पाकिस्तानबीचको विवादलाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयबाट प्राप्त निर्देशन कार्यान्वयन गरिएको उनले जानकारी दिए ।

सीमावर्ती क्षेत्रको आवागमन व्यवस्थित र सुरक्षित बनाउनका लागि अब यात्रुहरूलाई आवतजावतको प्रयोजन विवरण दिनुपर्नेछ ।

यसअघि स्थलमार्गबाट दुवै देशका नागरिक बिना रोकावट आवतजावत गर्न सक्दथे तर हाल परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा उपायहरू कडाइ गरिएका छन् ।