द न्यूज होम
वीरगञ्ज,वैशाख २७ गते । खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त रकम छुट्याइने बताएका छन्। शनिबार वीरगञ्ज महानगरपालिका–१६ स्थित नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रममा बोल्दै उनले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाए।

उनले भने, “नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष्य हो। खानेपानीका क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन्छ। सबै नागरिकलाई सुरक्षित पानी वितरण गर्छौँ।”

मन्त्री यादवका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्ने र सरसफाइका क्षेत्रमा लगानी बढाएर दिगो विकासको लक्ष्य हासिल गरिनेछ। उनले सबै भेग—तराई, मधेस, हिमाल र पहाडका नागरिकसम्म स्वच्छ खानेपानी पु–याउने गरी मन्त्रालय क्रियाशील रहेको बताए।

उनले उपभोक्ता र स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना एकीकृत रूपमा सञ्चालन गरिने बताए। नागवा खानेपानी ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गरिने लक्ष्य रहेको र आफूले अनुगमनमार्फत कार्य समयमै सम्पन्न गराउने आश्वासनसमेत दिए।

कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह, वडा नं–१६ की सदस्य लवङ्गी देवी, वडा नं–१५ का अध्यक्ष रमेश यादव, वडा नं–१६ का सदस्य प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष तथा बहुदरमाई नगर प्रमुख सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्य जन्नत अन्सारी र पुरुषोत्तम लाल झालगायतको उपस्थिति रहेको थियो।