द न्यूज होम
जनकपुरधाम,वैशाख २७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सटर भाडा अत्यधिक महँगो हुँदै जाँदा व्यापारिक संकट गहिरिँदै गएको छ । बजार क्षेत्रहरूमा पसलको चहलपहल घट्दै गएको छ भने सटरहरू महिनौँदेखि खाली छन् । तर यस्ता अवस्थाबीच पनि सटरको भाडादरमा कुनै उल्लेखनीय कमी आएको छैन, जसले गर्दा व्यापारीहरू विकल्प खोज्दै अन्य सहरतर्फ पलायन हुन थालेका छन् ।

शहरका मुख्य व्यापारिक केन्द्रहरूजस्तै पेठिया बजार, जानकी चौकदेखि शिवचौक र भानु चौकदेखि मिल्स एरियासम्मको क्षेत्रमा सटर भाडा अझै पनि २० हजारदेखि ८० हजार रुपैयाँसम्म कायम छ । एडभान्स रकम पनि ५ लाखदेखि १० लाखसम्मको माग भइरहेका छन् । तर, यी दरहरू अहिलेको व्यापारिक अवस्थाको हिसाबले अत्यन्तै असहज छन् ।

व्यापारमाथि परेको संकट केही समयको मात्र होइन । मधेश आन्दोलनका बेला लगभग ६ महिनासम्म बजार ठप्प रह्यो । त्यसपछि कोरोना महामारीको समयमा फेरि लामो समयसम्म सम्पूर्ण व्यापार बन्द रह्यो । जनकपुरधामको सडक तथा पूर्वाधार पुनर्निर्माणकै कारण पनि बजार सञ्चालनमा थप कठिनाइ भएको थियो । वर्तमान अवस्थामा पार्किङको समस्याले पनि ग्राहकहरूको संख्यामा भारी गिरावट आएको स्थानियवासीहरुको भनाई छ ।

स्थानीय व्यापारीहरूका अनुसार यस्ता अवस्थाबीच पनि घरधनीहरूले सटर भाडा घटाउन नमान्दा बजार नै पातलिँदै गएको छ । पसल भाडामा लिन चाहनेहरू छन् तर भाडा र एडभान्स यति चर्को भएको छ कि लगानी गर्न सक्ने अवस्था छैन । यसले गर्दा जनकपुरधाममा नयाँ व्यापार खोल्न चाहनेहरू हतोत्साहित भइरहेका छन् ।

व्यापारिक संघसंस्थाहरूले घरधनी र स्थानीय प्रशासनसँग बारम्बार सटर भाडा यथार्थपरक बनाउन र बजारको अवस्था सुधार गर्न माग गर्दै आएका छन् । तर, अहिलेसम्म त्यसतर्फ खासै ध्यान नदिइएको व्यापारीहरूको गुनासो छ। यदि यस्तै अवस्था रहिरह्यो भने जनकपुरधामको ऐतिहासिक व्यापारिक महत्त्व नै हराउने चिन्ता व्यापारीहरूले व्यक्त गरेका छन् ।