द न्यूज होम
एजेन्सी,वैशाख २७ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले “भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएको“ बताएका छन्।

सामाजिक सञ्जालको प्लाटफर्म ’ट्रुथ सोशल’मा एक सन्देश लेख्दै अमेरिकी राष्ट्रपतिले भनेका छन्ः संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ।

“सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेकामा म दुवै देशलाई बधाई दिन चाहन्छु।“

भारतका विदेशसचिव विक्रम मिसरीले भारत र पाकिस्तान दुवै देशले स्थानीय समयानुसार अपराह्ण ५ बजेदेखि लागु हुने गरी “स्थल, हवाई र समुद्री हमला“ रोकेको पुष्टि गरेका छन्।

उनका अनुसार पाकिस्तानका सैन्य कारबाही मामिलाका महानिर्देशकले उनका भारतीय समकक्षीलाई सम्पर्क गरेका थिए र दुवै पक्षले एकअर्कामाथि हमला नगर्ने सहमति जनाएका थिए।

भारतका विदेशमन्त्री एस जयशङ्करले पनि “भारत र पाकिस्तानले आज गोलाबारी र सैनिक कारबाही रोक्न एउटा सहमति“ गरेका हुन्।

“भारतले सबै प्रकार र स्वरूपका आतङ्कवादविरुद्ध दह्रो र कडा अडान निरन्तर कायम गर्दै आएको छ। अनि भारतले त्यस्तो अडान कायमै राख्ने छ,“ उनले भने।

अमेरिकाका विदेशमन्त्री मार्को रुबिओका अनुसार भारत र पाकिस्तान “तत्काल युद्धविराम गरेर कुनै तटस्थ स्थानमा विविध विषयमा वार्ता गर्न सहमत भएका छन्।“

“शान्तिको मार्ग रोजेकोमा हामी प्रधानमन्त्रीद्वय मोदी र शरिफको बुद्धिमत्ता, सावधानी र राजनेताको गुणको प्रशंसा गर्छौँ,“सामाजिक सञ्जाल ’एक्स’मा उनले लेखेका छन्।वीवीसीबाट