सैफुल्ला राइन
जनकपुरधाम, वैशाख २८ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका–४ स्थित खजुरीको चन्हा टोल नजिकको झाडीभित्र एक नवजात शिशु फ्यालिएको अवस्थामा फेला परेको छ । आइतबार बिहान स्थानीय बासिन्दाले झाडीभित्र अस्वाभाविक आवाज सुनेपछि नजिक पुग्दा शिशुलाई एक्लै छाडिएको अवस्थामा भेटिएको हो ।

सूचना पाएलगत्तै प्रहरी र स्थानीयको सहयोगमा शिशुलाई उद्दार गरी तत्कालै नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार शिशुको प्रारम्भिक अवस्था सामान्य रहेको छ ।

स्थानीयवासीले शिशु अवैध सम्बन्धको परिणामस्वरूप जन्मिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।स्थानीयका अनुसार, “झाडीमा यसरी नवजात शिशु फ्यालिनु अमानवीय र अत्यन्त दुःखद छ । यस्तो व्यवहारको कडा निन्दा हुनुपर्छ ।”

घटनाबारे अनुसन्धान सुरु गरिएको जनाउँदै प्रहरीले शिशु कसले, कहिले र किन त्यहाँ फ्याल्यो भन्नेबारे विस्तृत जानकारी संकलन भइरहेको जनाएको छ । दोषी पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले प्रतिबद्धता जनाएको छ ।