द न्यूज होम
वीरगञ्ज, वैशाख ३१ गते । वीरगञ्जको आकर्षणको केन्द्र घण्टाघर क्षतिग्रस्त भएको महिनौ भइसक्दा पनि अझैसम्म मर्मत सम्भार कार्य सम्पन्न हुन सकेको छैन ।

हाल घण्टाघर मर्मतका लागि छोपिएको छ, जसका कारण वीरगञ्जको सौन्दर्य र आकर्षणमा कमी आएको स्थानियवासीको गुनासो छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार घण्टाघरको संरचना जीर्ण भएकाले मर्मतमा केही बढी समय लागेको हो। उनले भने, “पुरानो संरचना भएकाले मर्मतमा समय लागेको हो। व्यवसायीलाई पनि शीघ्र कार्य सम्पन्न गर्न ताकेता गरिएको छ।”

पूर्वाधार महाशाखाका इञ्जिनियर गौरव झाले बाल्कोनीमा अकासे पानीको उचित निकास नहुँदा घामपानीको असरले क्षति पुगेको बताए। उनले भने, “बाल्कोनीमा क्र्याक आइसकेको छ। पर्खालको इँटा समेत खस्न थालेको देखिएको छ। त्यसैले हामीले कोर बिल्डिङ नभइ बाल्कोनीको छाना फोरेर मर्मत कार्य अघि बढाइरहेका छौँ।”

उनका अनुसार क्षतिको पहिचान र लागत अनुमान (इष्टिमेट) तयार गर्न केही समय लागेको हो। “पहिले क्षतिको विवरण सङ्कलन, त्यसपछि लागत अनुमान बनाउन समय लाग्यो। स्काफोल्डिङ तयार गर्न, उचाइमा काम गर्ने दक्ष प्राविधिक खोज्न पनि समय लाग्यो,” उनले थपे।

इञ्जिनियर झाले हाल घण्टाघरको मर्मत कार्य जारी रहेको बताए। “हाल ५० देखि ६० फिट उचाइमा काम भइरहेको छ। तल्लो संरचनामा क्षति नहोस् भनेर विशेष सावधानी अपनाइएको छ,” उनले भने।

घण्टाघरको मर्मत कार्य करिब रु २० लाख लागतमा भइरहेको हो। वीरगञ्ज महानगरले यो काम २०८२ असार १० गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का दिएको छ।

स्मरणीय छ, वीरगञ्जको ऐतिहासिक घण्टाघर सन् १९७९ फेब्रुअरी ८ मा निर्माण सम्पन्न भएको मानिन्छ।