द न्यूज होम
राजविराज, जेठ २ गते । मालपोत कार्यालय सप्तरीमा अनलाइन भू–सेवा सुरु भइसके पनि सेवाग्राहीले अझै पुरानै ढंगको सास्ती खेप्नुपरेको छ । कार्यालय परिसरमै अनधिकृत रूपमा लेखापढी व्यवसायीहरूले टहरा बनाएर शुल्क उठाउँदै आएका छन् ।

२०७८ मङ्सिर १५ देखि भू–सेवा प्रणाली लागू भएसँगै ५२ वटा केन्द्रलाई अनुमति दिइएको थियो। भू–सेवाबाट सम्पूर्ण प्रक्रिया हुने व्यवस्था भए पनि मालपोत कार्यालय परिसरमा लेखापढी व्यवसायीहरूको बाक्लो उपस्थिति कायमै छ ।

सेवाग्राहीका अनुसार लेखापढी व्यवसायीले बैंक रोक्का वापत २५००, राजिनामा लेखत वापत ३००० र दाखिला, खारेजी आदि वापत ५००० सम्म शुल्क लिँदै आएका छन्। तर ती शुल्कको न त कार्यालयसँग रेकर्ड छ न त रसिद कार्यालयमा बुझाइन्छ ।

मालपोत प्रमुख लक्ष्मीप्रसाद खरेलका अनुसार लेखापढी व्यवसायीको कारण कार्यालयको छवि बिग्रिएको छ । “कुन शुल्क लिइन्छ भन्ने जानकारी छैन, यो कानुनसम्मत छैन,” उनले स्पष्ट पारे ।

लेखापढी व्यवसायीलाई पटक–पटक मौखिक र लिखित आग्रह गरिए पनि अहिलेसम्म कार्यालय परिसर खाली गराइएको छैन। प्रमुख जिल्ला अधिकारी भोला दाहालले निर्णय कार्यान्वयनमा मालपोतलाई सहयोग गर्न प्रशासन तयार रहेको बताए ।

सरकारी निर्णयको अवज्ञा गर्दै आएको लेखापढी व्यवसायी समिति विरुद्ध थप कडाइ गर्ने तयारीमा मालपोत कार्यालय रहेको जनाएको छ ।