द न्यूज होम
महोत्तरी, जेठ २ गते । प्रादेशिक अस्पताल जलेश्वरमा निःशुल्क वितरण गरिने औषधिको चरम अभाव भएको छ। सरकारले ९८ प्रकारका औषधि निःशुल्क दिने नीति ल्याए पनि हाल अस्पतालको औषधि वितरण कक्षमा १५–२० प्रकारका औषधि मात्र उपलब्ध छन् ।

अस्पताल प्रमुख डा. विकास साहका अनुसार औषधिको अभावले उपचारमा गम्भीर समस्या उत्पन्न भएको छ। “दुई महिनादेखि औषधिको चरम अभाव छ, प्रदेश सरकारलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ भएको छैन,” उनले भने ।

सामाजिक अभियन्ता जितेन्द्र पासवानले बिमा सेवाबाट पाइने औषधि समेत नपाउने अवस्था रहेको र दीर्घरोगी बिरामीहरू बढी मारमा परेको गुनासो गरे ।

डा. साहका अनुसार आकस्मिक कक्षमा आवश्यक औषधि अस्पतालले आफ्नै स्रोतबाट व्यवस्थापन गरिरहेको छ, तर इमर्जेन्सी सेवा समेत प्रभावित हुने अवस्थामा पुगेको छ । “सिटामोल र जीवनजलजस्ता आधारभूत औषधिबाहेक धेरैजसो औषधि मौज्दात छैन,” उनले बताए ।

उच्च रक्तचाप, मधुमेह र मुटु रोगका बिरामीले नियमित सेवन गर्ने औषधि दुई महिनादेखि अस्पतालमा नआएको जनाइएको छ । मेटफरमिन ५०० एमजी मात्र उपलब्ध रहेको र एट्रोभास्टिनजस्ता औषधि नौ महिनादेखि अभावमा रहेको प्रमुख साहले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालय, विभाग तथा केन्द्र सरकारसँग बारम्बार औषधिका लागि अनुरोध गरिए पनि समस्या समाधान नभएको गुनासो अस्पताल प्रशासनले गरेको छ ।