द न्यूज होम
जनकपुरधाम,जेठ ३ गते । भारतको अग्रणी विश्वविद्यालय मध्ये एक, संदिप युनिभर्सिटीले शनिबार ‘संदिप प्रतिभा सम्मान २०८१’ अन्तर्गत उत्कृष्ट दस जना विद्यार्थीलाई नगद, शिल्ड र फूलमालासहित सम्मान गरेको छ ।

गत वर्ष फागुन १० गते जनकपुरधामस्थित ज्ञानकुप विद्यालयमा मधेश प्रदेशका १२ कक्षा अध्ययनरत ५६१ जना विद्यार्थीलाई लक्षित गरी लिइएको परीक्षामार्फत उत्कृष्ट दस विद्यार्थी छनोट गरिएको थियो । विश्वविद्यालयका रिजनल म्यानेजर पंकज चौधरीका अनुसार, शनिबार जनकपुरधामस्थित युनिभर्सिटी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मान वितरण गरिएको हो ।

प्रतिभा सम्मानमा प्रथम स्थान प्राप्त गरेका अंगद कुमार यादवलाई रु २१,००० नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, दोस्रो स्थान प्राप्त आयुष कर्णलाई रु १५,०००, तेस्रो विवेश कुमार यादवलाई रु ११,०००, चौथो वसन्त यादवलाई रु ८,००० र पाँचौं सृजना ठाकुरलाई रु ७,००० नगदसहित शिल्ड प्रदान गरिएको छ ।

स्वन्तना पुरस्कारतर्फ सम्पूर्ण अधिकारी, अमन मिश्र, तृप्ती यादव, रुपेश मण्डल र आशुतोष कुमार झा प्रत्येकलाई रु ५,००० नगद र शिल्ड प्रदान गरिएको थियो ।

संदिप युनिभर्सिटी भारतको नाशिक र मधुवनीमा अवस्थित उच्च शिक्षालय हो, जहाँ नेपालसहितका विद्यार्थीहरु अध्ययनरत छन् । रिजनल म्यानेजर चौधरीका अनुसार, नेपाली विद्यार्थीका लागि मधुवनी क्याम्पसमा इन्जिनियरिङ अध्ययनको कुल खर्च साढे पाँच लाख भारतीय रुपैयाँ र नाशिक क्याम्पसमा साढे आठ लाख भारतीय रुपैयाँ छ । विश्वविद्यालयले पीएचडीसम्मको पढाइ गराउँदै आएको छ ।

कम खर्चमा गुणस्तरीय इन्जिनियर उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि छुट्टै सेवा सुविधा प्रदान गर्दै आएको जानकारी समेत चौधरीले दिए ।