द न्यूज होम
जनकपुरधाम, जेठ ३ गते । जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि.द्वारा संचालित वंडरलैंड वाटर पार्कमा कृष्णा फाउण्डेशनद्वारा कक्षा १२ का परीक्षा दिएर सकिएका विद्यार्थीहरूका लागि आयोजना गरिएको “ग्रान्ड फेयरवेल सेलेब्रेशन“ कार्यक्रम भीड नियन्त्रणबाहिर जाँदा तनावग्रस्त बनेको छ । शनिबार अनियन्त्रित भीड र केही अराजक तत्वका कारण पार्कमा तोडफोडसमेत भएको छ ।

वाटर पार्क व्यवस्थापनद्वारा जारी प्रेस विज्ञप्ती अनुसार, कार्यक्रमका लागि विद्यार्थीहरूबाट कृष्णा फाउण्डेशनले क्यूआर कोडमार्फत रु १०० शुल्क लिएको थियो । बिहान ९ बजेबाट साढे १० भित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था भए पनि निर्धारितभन्दा बढी विद्यार्थीको उपस्थितिले भीड अनियन्त्रित बनेको थियो ।

आयोजक पक्षले चेकिङको जिम्मेवारी लिएको भए तापनि, प्रवेश द्वारमै भीड नियन्त्रणमा लिन नसक्दा वंडरलैंडका सुरक्षागार्ड र पछि नेपाल प्रहरीको सहयोगमा अवस्थालाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो । घटनामा भएको क्षतिको विवरण संकलन कार्य भइरहेको छ भने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको जनाइएको छ । वाटर पार्कले अन्य दोषीहरूलाई पनि छानबिन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

वाटर पार्कले घटनाप्रति दुःख व्यक्त गर्दै सेवाहरू आइतबारदेखि पुनः सुचारु हुने जानकारी दिएको छ। मर्मत तथा सरसफाइ कार्य तीव्र गतिमा भइरहेको र पार्कको अवस्था सामान्य रहेको जनाएको छ । साथै, टिकट शुल्क फिर्ता गरिने आयोजक कृष्णा फाउण्डेशनको प्रतिबद्धता रहेको प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

वंडरलैंड वाटर पार्क व्यवस्थापनले सहयोग पु¥याउने सम्पूर्ण कर्मचारी, उद्योगी–व्यवसायी, प्रहरी–प्रशासन तथा अन्य सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ ।