द न्यूज होम
जनकपुरधाम, जेठ ७ गते । बहुलराष्ट्रीय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति अगाडि बढाउने लक्ष्यसहित राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेपाल जनमुक्ति पार्टी (के.पि. पालुङवा, सन्जुहाङ पालुङवा, एम.एस. थापा लगायतको नेतृत्वमा) बीच कार्यगत एकता हुँदैछ ।

दुई पार्टीबीच पार्टी एकता सम्मको यात्रा तय गर्न गठित कार्यदलको पहिलो बैठक अत्यन्तै सकारात्मक रुपमा सम्पन्न भएको छ ।

बैठकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट नेता बुद्ध छिरिङ मोक्तान, सन्तोष मेहता, र रविन्द्र कुमार श्रेष्ठ सहभागी थिए भने नेपाल जनमुक्ति पार्टीका तर्फबाट बलदीप राई, पदम जवेगु र लासिम पालुङवा सहभागी थिए ।

कार्यदल सदस्य सन्तोष मेहताका अनुसार, बैठकमा समावेशी लोकतन्त्र, पहिचान आधारित संघीयता र बहुलराष्ट्रीयताको आधारमा साझा राजनीतिक दिशातर्फ अग्रसर हुने समझदारी गरिएको छ ।

दुवै पार्टीबीचको आपसी विश्वास र क्रान्तिकारी ध्येयप्रति प्रतिबद्धताले कार्यगत एकता प्रक्रियालाई थप दृढता दिने अपेक्षा गरिएको छ ।

कार्यदलले आगामी दिनहरूमा सहकार्यको रूपरेखा तय गर्दै साझा कार्यदिशा सार्वजनिक गर्ने तयारीसमेत गरेको छ। उक्त कार्यदिशाको प्रारम्भिक खाका तयार गर्न बुद्ध छिरिङ मोक्तान र लासिम पालुङवा रहेको दुई सदस्यीय उप–समिति गठन गरिएको छ ।