द न्यूज होम
जनकपुरधाम, जेठ १३ गते । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय यादवले डिभिजन वन कार्यालय रौतहटअन्तर्गतका वन क्षेत्रमा देखिएको बेथितिविरुद्ध अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार मन्त्रालयमा चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवसँगको भेटका क्रममा मन्त्री यादवले वन क्षेत्रमा देखिएको बेथितिलाई न्यूनिकरण गर्न आफू गम्भीर र प्रतिवद्ध रहेको बताएका हुन् ।

“अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यमा व्यस्त रहेकाले तत्कालै अनुगमन गर्न सम्भव नभएको हो,“ मन्त्री यादवले स्पष्ट पारे । उनले थपे, “वनसम्बन्धी ऐनमा केही त्रुटिहरू छन्, जुन अहिले संशोधनको प्रक्रियामा छन् । संशोधनपछि ती ऐनहरूको कडाइका साथ कार्यान्वयन गरिनेछ ।“

मन्त्री यादवले चुरे क्षेत्रको विनाशले सम्पूर्ण मधेश प्रदेशमा पर्यावरणीय संकट ल्याउन सक्ने खतरा रहेको र त्यसप्रति आफू पूर्णतः संवेदनशील रहेको जनाए ।नयाँ मन्त्रीको रूपमा वन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अभियानका अध्यक्ष यादवले मन्त्रीलाई भेटी आफ्नो अभियानका मागप्रति ध्यानाकर्षण गराएका थिए ।

संयोजक यादवले टुडेसँग कुराकानी गर्दै भने, “मन्त्रीज्यूले हाम्रो मुद्दाप्रति संवेदनशीलता देखाउनुभएको छ र चाँडै यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर तोकिएको समयभित्र चुरे क्षेत्रका बेथितिहरूको छानबिन गरी कानुनी कारबाही नगरे आन्दोलनमा उत्रनु पर्ने अवस्था आउन सक्छ ।“