द न्यूज होम
जलेश्वर, जेठ १३ गते । बर्दिबासको राइमण्डलमा अहिले हजारौँ वर्ष पुराना ढुङ्गे हतियारहरूको खोजका लागि जमिन कोटिँदैछ ।

जर्मन भूगर्भशास्त्री गुडन कर्विन्सले सन् १९८० तिर गरेका अध्ययनको आधार पछ्याउँदै नेपाल सरकारको पुरातत्व विभागले राइमण्डल र पाटु क्षेत्रमा गहिरो अन्वेषण थालेको हो। विभागका वरिष्ठ पुरातत्वविद् डा. मञ्जिल हजारी र भास्कर ज्ञवालीको नेतृत्वमा एक विज्ञ टोली १० दिने अनुसन्धानमा खटिएको छ ।

राइमण्डल क्षेत्रमा पाषाण युगका हतियारहरू झण्डै १२ हजार वर्ष पुरानाका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यो खोज अहिलेको बिपी राजमार्गको बर्दिबास–३ पाटु पश्चिम र भब्सी नदीपूर्वको क्षेत्रमा केन्द्रित छ ।

पुराना अभिलेख र कर्विन्सको प्रीहिस्टोरिक कल्चरर्स इन नेपाल भन्ने पुस्तकमा राइमण्डल र पाटु क्षेत्र पाषाण युगको हतियार उत्पादन स्थल भएको उल्लेख गरिएको छ। त्यसैका आधारमा विभागले स्थानीय संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिको सहयोगमा व्यापक अन्वेषण सुरु गरेको हो ।

पछिल्ला वर्षहरूमा बर्दिबासको पुरातात्विक, धार्मिक र ऐतिहासिक महत्त्वबारे स्थानीय निकायले विभिन्न अध्ययन प्रतिवेदन पनि तयार पारेका छन् । त्यसैको फलस्वरूप चालु आर्थिक वर्षमा संघीय सरकारको बजेटबाट ‘रातु–राइमण्डल’ क्षेत्रको अध्ययनको काम सुरु भएको हो ।

बर्दिबास–१२ स्थित भेडियारी टोलमा राजा विजय सिंहको दरबारका अवशेष भेटिएको दाबी गर्दै आएका स्थानीयले यहाँ १४औँ शताब्दीमा राजकाज सञ्चालन भएको बताउँछन् । त्यस्तै, राइमण्डलधाम सत्ययुगकालीन धार्मिक स्थलका रूपमा परिचित छ भने पाशुपतास्त्र प्राप्तिका लागि अर्जुनले तपस्या गरेको भनिने थुम्को मडहा नदी किनारमा छ ।

यसैगरी, रजबास क्षेत्रमा विदेहकालीन अष्टावक्र ऋषिको जन्मस्थलसमेत भएको दाबी गर्दै भारतबाट आएका एक योगीले प्रदेश सरकारलाई अध्ययन प्रतिवेदन बुझाइसकेका छन् ।
“यहाँ एकपछि अर्को नयाँ अनुसन्धानको विषय खुल्दै गएका छन । हामी ‘रातु सभ्यता’ को जरा समात्दै गहिरिँदैछौँ।”नगरपालिका अन्तर्गतको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले पनि पुरातत्व विभागसँग सहकार्यमा यो कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।