द न्यूज होम
जनकपुरधाम,जेठ १४ गते । कहिले नेपालको एक सफल वन विकास परियोजना मानिने सागरनाथ वन विकास परियोजना हाल चरम अस्तव्यस्ततामा पुगेको छ ।
सरकारलाई करोडौ राजश्व बुझाउने परियोजना पछिल्लो समय अव्यवस्थित व्यवस्थापनका कारण परियोजना चरम संकटमा पुगेको छ । हाल कार्यरत कर्मचारीहरू एक वर्षदेखि तलब–भत्ता नपाई घरबाट खाएर काम गर्न बाध्य भएका छन् ।

वृक्षारोपण कार्यक्रम पूर्णरूपमा ठप्प भएको छ भने परियोजनाका अन्य व्यवस्थापकीय कार्यहरू पनि अस्तव्यस्त छन् । आन्तरिक संरचना र प्रशासनिक कामकाज लथालिंग अवस्थामा पुगेको देखिन्छ ।

यस सन्दर्भमा चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक तथा चुरे अभियन्ता सुनिल यादवले गम्भीर चिन्ता व्यक्त गर्दै सम्वन्धित सबै निकायका साथै केन्द्र तथा प्रदेश सरकार अन्तर्गतको वन मन्त्रालय, वन विभाग, र वन पैदावार विकास समितिहरूलाई तुरुन्त ध्यान दिन आग्रह गरेका छन् ।

यादवले भने, “यो परियोजना भनेको सुनको फुल दिने बोट हो । यसलाई संरक्षित गर्न सबै नेपालीको जिम्मेवारी हो । तुरुन्त गहन विचार–विमर्श गरी यो ऐतिहासिक परियोजनाको पुनरुत्थान र संरक्षण गर्नुपर्छ ।”उनले यति समस्याका बीच पनि कर्मचारीहरू आफ्नो कर्तव्य निभाइरहेका छन् भन्ने तथ्य आफैमा प्रशंसनीय छ ।

परियोजनाले अतीतमा ५०० भन्दा बढी कर्मचारीलाई नियमित तलब–भत्ता वितरण गर्दै, सेवानिवृत्त कर्मचारीहरूलाई उपदान दिँदै, प्रत्येक वर्ष लाखौं बिरुवा उत्पादन र सैकडौं हेक्टरमा वृक्षारोपण गर्दै आएको थियो । यसै गरी परियोजनाले दश करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको थियो ।