द न्यूज होम
जनकपुरधाम, जेठ १४ गते । जनता समाजवादी पार्टी नेपालका नेता जितेन्द्र यादवले धनुषा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने नगराईन नगरपालिका–४, फुलगामामा राजर्षि जनक विश्वविद्यालय स्थापनाका लागि सर्वपक्षीय सहकार्य र एकीकृत संघर्षको आह्वान गरेका छन् ।

नेता यादवले विश्वविद्यालय स्थापनाको प्रक्रिया लम्बिएको, र प्रशासनिक भवन निर्माणमा देखिएको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक कदम चाल्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

उनले भने, “राजर्षि जनक विश्वविद्यालयको भवन भाडाको जमिनमा होइन, ऐतिहासिक र भौगोलिक रूपमा उपयुक्त फुलगामामै बनाइनु पर्छ। यस कार्यका लागि म स्वयं संघर्षमा उत्रिने प्रतिबद्धता जाहेर गर्दछु ।”

यादवले फुलगामाको भौगोलिक विशिष्टताका साथै भारतको सीमासँगको निकटता र जनकपुरधामसँगको जोडाइलाई दृष्टिगत गर्दै विश्वविद्यालय स्थापनाको अपरिहार्यता औंल्याएका छन्। “फुलगामा विश्वविद्यालय स्थापनाले ग्रामीण विकास, शिक्षा विस्तार, शान्त वातावरणमा पठनपाठन, र उत्तर–दक्षिण व्यापार विस्तारमा समेत योगदान पु¥याउनेछ,” उनले बताए ।

राजर्षि जनक विश्वविद्यालयको स्थायी भवन निर्माणका लागि लामो समयदेखि आवाज उठ्दै आएको छ। २०५३ सालदेखि निरन्तर संघर्षरत रहेका कांग्रेस नेता दिवंगत विमलेन्द्र निधिले २०६६ सालमा संसदबाट विश्वविद्यालय सम्बन्धी विधेयक पारित गराएका थिए । त्यसपछि विश्वविद्यालय स्थापनाका लागि फुलगामामा तोकिएको जमिनमा केही वर्ष अघि ल्याण्डफिल साइट बनाउन खोज्दा तीव्र विरोध भएको थियो ।

हाल विश्वविद्यालय जनकपुरधामस्थित भोलासिंह लायन्स स्कुलको भवनमा सञ्चालन भइरहेको छ । तर, स्थानको अस्थायित्व र कर्मचारीस्तरको विवादका कारण संस्था पटकपटक विवादमा तानिँदै आएको छ ।

नेता यादवले विश्वविद्यालय स्थापनार्थ एक इँटा थप्ने इच्छाशक्ति स्वयंमा भएको भन्दै यो अभियानमा सबैले हातेमालो गर्नु पर्ने बताएका छन् । उनले भने, “यो केवल एउटा भवनको सवाल होइन, सम्पूर्ण मधेशको शैक्षिक, सामाजिक र भौगोलिक उन्नतिको मर्म हो। यसका लागि म आजैबाट संघर्षमा रहने घोषणा गर्दछु ।”