द न्यूज होम
जनकपुरधाम,जेठ १९ गते । जनकपुरधाममा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको भव्य स्वागत भयो । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयको आमन्त्रणमा आएका ओलीका स्वागतमा फूलमालादेखि नारासम्मको भीड जुटाइयो । तर, यही स्वागतलाई लिएर नेपाल भारत खुला सिमा संवाद समूह, नेपालले कडा आपत्ति जनाएको छ ।

समूहका अध्यक्ष डा. राजीव झाले जारी गरेको धारणा अनुसार, ओलीको आगमन मधेशको ऐतिहासिक पीडा र आत्मसम्मानमाथिको अपमान हो । २०७२ सालमा संविधान निर्माणको आन्दोलन उत्कर्षमा पुगेका बेला मधेस बलिरहेको थियो, रगत बगिरहेको थियो । माग समावेशीता, समानता र सम्मानको थियो, तर काठमाडौँमा बसेका शासकहरूले ‘बल प्रयोग गर’ भन्ने आदेश दिएका थिए । त्यसै आदेशका कारण जनकपुरधाम, वीरगञ्ज, राजबिराज, मलंगवा, गौर, जलेश्वर जस्ता सहरमा दर्जनौं मधेसी नागरिकहरूको लाश ढलेको उनले सार्वजनिक गरेको धारणामा स्मरण गराएका छन् ।

उनी लेख्छन् – “एकै घरमा एकै दिनमा बाजे र नातिको ज्यान गयो । नातिका लागि कफनको कपडा किन्न गएका बाजेलाई प्रहरीले गोली हानेर हत्या ग¥यो । छतमा बसेर चिया खाँदै गर्दा कांखमा बच्चा खेलाउँदै गरेकी आमाको घरमा प्रहरीको गोली लाग्दा अबोध बच्चाको मृत्यु भयो ।” उनले त्यही घटनाहरू स्मरण गराउँदै भने, “यी नै थिए ती नागरिकहरू, जसलाई ओलीले ’२–४ जना आँप झार्ने’ भनेर अपमान गरेका थिए। जसलाई ’मांखे संगालो’ भनिएको थियो । जसका लागि ’कालो मधेसी कालो दिन मनाउँछ’ जस्ता अपमानजनक शब्द बोलेका थिए । अनि ’मधेशलाई बिहारमा मिसाऔं’ भन्ने अभिव्यक्ति दिने पनि उही व्यक्ति थिए ।”

अहिले त्यही केपी ओली जनकपुरधाम आइपुगेका छन् । तर उनी माफी माग्न आएका होइनन्, असमान संविधान सच्याउने प्रस्ताव लिएर पनि आएका होइनन्, न त आन्दोलनमा मरेका निहत्था नागरिकको न्याय दिन आएका हुन् । उनी आएका छन् योजनाको शिलान्यास गर्न – विकासका नाममा विगतका राजनीतिक अपराधलाई पखाल्ने प्रयाससहित ।

समूहको धारणा छ, विकास त्यो हो, जसले घाउमा मलहम लगाउँछ, इतिहासको अपमान मेटाउँछ र संवेदनालाई जीवित राख्छ । पुल–सडक मात्र विकास होइन, जबसम्म त्यहाँ न्याय छैन, आत्मसम्मान छैन, तबसम्म त्यो विकास पनि अमानवीय हुन्छ । ओलीको स्वागत दृश्यलाई ‘सम्झनाशक्ति’ माथिको अपमानका रूपमा व्याख्या गर्दै समूहले गहिरो चिन्ता व्यक्त गरेको छ ।

“हिजो जसले मधेशीलाई नेपाली मान्न अस्वीकार ग¥यो, आज उसैलाई माला लगाउने हामी? के हामी इतिहास यति चाँडै बिर्सन सक्छौं?” अध्यक्ष झाले प्रश्न गरेका छन् ।

समूहले स्पष्ट पारेको छ कि मधेस कुनै पनि दलको विरोधी होइन, तर उसले आत्मसम्मान र न्यायको राजनीति खोजिरहेको छ । विकासको पक्षमा उभिए तापनि, त्यस्तो विकास अन्याय भुलेर स्वीकार्य नहुने उनको भनाइ छ । “आज स्वागत गरियो भने, भोलि इतिहास दोहोरिन्छ,” भन्ने उनको चेतावनीसँगै, अब मौनताले प्रतिरोधको स्वर लिने उल्लेख छ ।

“जनकपुरधामको धूलो सबै नागरिकको साझा हो । तर आँसु नपुछ्नेहरूको स्वागतमा फूल अर्पण गर्नु कमजोरी हो, प्रतिरोध होइन,” अध्यक्ष झाले अन्त्यमा लेखेका छन् । मधेश मौन छैन, उसले लेखिरहेको छ, सम्झँदैछ र प्रतिरोध गरिरहेको छ। यो मौनता बहसमा रूपान्तरण हुनेछ, अनि त्यो बहस आन्दोलनमा। किनभने मधेस बिर्सँदैन, मधेस सम्झन्छ र इतिहास लेख्छ ।