द न्यूज होम
जनकपुरधाम,जेठ १९ गते । सनातन धर्मावलम्बीहरूको एक अर्बभन्दा बढी जनसंख्या भएका विश्वभरका श्रद्धालुहरूका लागि पवित्र धार्मिक तीर्थस्थलको रूपमा चिनिने जनकपुरधामका मौलिक र पौराणिक धार्मिक धरोहरहरू तीव्र रूपमा नष्ट हुँदै गएका छन् । इतिहासविद् तथा जनकपुरधामका अभियानी प्रफुल्लराज घिमिरेले यसप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भनेका छन्, “अति नै भो हजुर ! अब त यतातिर ध्यानाकर्षित गर्ने हो कि?”

उनका अनुसार जनकपुरधाममा रहेका ऐतिहासिक पोखरी, इनार, गाछी, फूलवारी, बन–बगैंचा, मठ–मन्दिर, कुप, नदी–नाला, पाटी–पौवा लगायतका संरचनाहरू एकपछि अर्को गर्दै लोप हुँदै गइरहेका छन्। धार्मिक आस्थाका यी धरोहरहरू नष्ट हुनु केवल भौतिक संरचनाको अन्त्य होइन, हजारौँ वर्षदेखि समेटिएको सभ्यता, संस्कृति र धार्मिकताको मूल मर्म नै संकटमा पार्ने कार्य हो ।

“पवित्र धार्मिक तीर्थस्थल जनकपुरधामको पहिचानलाई जोगाउने कि गुमाउने?” घिमिरेको प्रश्न केवल भावनात्मक आह्वान मात्र होइन, यो समयमै सचेत नभए सम्पूर्ण धार्मिक र सांस्कृतिक सम्पदा लोप हुने सम्भावनातर्फ इशारा हो ।

उनले परापूर्वकालदेखि मनाइँदै आएका चाडपर्व, धार्मिक रीतिरिवाज र मौलिक परम्पराहरू पनि आधुनिकताको नाममा ओझेलमा परिरहेको उल्लेख गरे। “हामी आफ्नै चाडपर्वलाई, आफ्नै संस्कृतिलाई माया गर्न छोड्दैछौं,” घिमिरेले भने, “धार्मिक पर्यटनको सम्भावना बढाउने नाममा जथाभावी संरचना बनाउने, टायल्स र कंक्रिटले मठ–मन्दिर ढाक्ने काम भइरहेको छ — जुन चिन्ताजनक छ ।”

उनले सम्पूर्ण सरोकारवालाहरुलाई अब मौन नबस्न आग्रह गर्दै जनकपुरधामको अस्तित्व जोगाउन संरक्षण, सम्बद्र्धन र पुनःउत्खननको अभियानमा जुट्न आह्वान गरे।

“अब पनि ढिलो नगरे जनकपुरधाम भविष्यको पुस्ताले किताबमै मात्र पढ्ने ठाउँ बन्न सक्छ,” घिमिरेले चेतावनी दिए ।