द न्यूज होम
जनकपुरधाम, जेठ १९ गते ।मधेश प्रदेशको चलचित्र तथा लोकसञ्चार विकास बोर्डको अध्यक्ष नियुक्तिको विषय विवादास्पद बन्दै गएको छ ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले बोर्डको अध्यक्षमा किशोर लेखीलाई नियुक्त गरेपछि, नियुक्ति प्रक्रियामा पारदर्शिता नभएको र कलासँग कुनै सम्बन्ध नराख्ने व्यक्तिलाई नियुक्त गरिएको भन्दै चौतर्फी विरोध चर्किएको हो ।

बोर्ड अध्यक्ष पदका लागि फारम भरेका ९ जना उम्मेदवारहरुमा किशोर लेखीको नाम नरहेको भन्दै चलचित्र क्षेत्रमा सक्रिय कलाकार तथा सरोकारवालाहरू आक्रोशित भएका छन् । उनीहरूको आरोप छ कि अनुभव र योग्यता नभएका व्यक्तिलाई केवल नातावादको आधारमा अध्यक्ष बनाइएको हो ।

मैथिली फिल्मका निर्माता, निर्देशक तथा अभिनेता निराजन मेहता ‘मंजित’ले यसप्रति कडा आपत्ति जनाउँदै भनेका छन्, “वर्षौंदेखि मधेशी फिल्म बनाउने हामी, करोडौं लगानी गर्ने हाम्रा निर्माता, भोकभोकै दुःख गरेर काम गर्ने हाम्रा कलाकार, अनि बोर्डको अध्यक्ष भने कसैलाई जानकारी नै नदिई आफ्नै आफन्तलाई ?”

उनले चलचित्र निर्देशन, निर्माण, प्रदर्शन लगायतका क्षेत्रमा अनुभव भएको व्यक्तिलाई मात्र यस्तो जिम्मेवारी दिनुपर्ने बताएका छन् । साथै, नव नियुक्त अध्यक्ष किशोर लेखीको कला क्षेत्रमा संलग्नता के छ भन्ने प्रमाण पेस गर्नुपर्ने माग समेत गरेका छन् ।