द न्यूज होम

जनकपुरधाम,जेठ १९ गते । आफ्नै घरअगाडि तलवार र पेस्तोल प्रयोग गरी ज्यान मार्ने प्रयास गर्ने व्यक्तिहरूलाई लामो समय बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेको भन्दै एक पीडितले न्यायका लागि पत्रकारहरूसमक्ष गुहार गरेका छन् ।

महोत्तरीको भंगाहा नगरपालिका–४ निवासी रामबाबु महतोले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका हुन् । उनले बताएअनुसार, महोत्तरी जिल्ला अदालतले अभियुक्तहरूलाई पक्राउ गर्न आदेश जारी गरे पनि ३ महिना बितिसक्दा समेत प्रहरीले कुनै कारबाही नगरेको छ ।

रामबाबुका अनुसार, उनी आफ्नो पसलबाट पटक–पटक उधारो लिँदै आएका स्थानीय राजाबाबु महतोलाई दिपावलीको समयमा पैसा फिर्ता कहिले दिने भनेर सोध्दा “एक सुका पनि दिँदिन, जे गर्नुछ गर” भन्दै धम्काएका थिए । सोही दिन साँझ घर फर्किने क्रममा राजाबाबुले बाटोमै रोकी कुटपिट गरेका थिए ।

घटना पछि रामबाबुले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिएका थिए। तर, गाउँका भद्रभलाद्मीहरूले “गाउँकै विषय हो, मिलापत्र गर” भनेर दबाब दिएपछि उनले मिलापत्र गरेका थिए ।

यद्यपि, त्यसको केही दिनपछि — दिपावलीको पूर्वसन्ध्यामा — रामबाबु घरबाहिर हिँडिरहँदा रुपेश महतो, राजाबाबु महतो र अजीत महतो मोटरसाइकलमा आएर उनलाई तलवार प्रहार गरी गम्भीर घाइते बनाएको उनले बताएका छन् । उनका अनुसार, गाउँलेहरू जम्मा हुन थालेपछि उनीहरू मध्ये एकले पेस्तोल झिकेर गोली प्रहार गर्न खोजे पनि गोली नचलेपछि उनी जोगिएका थिए । उक्त घटना सीसीटिभी फुटेजमा रेकर्ड भएको समेत उनले दाबी गरेका छन् ।

रामबाबुको भनाइअनुसार, घटना घटेको लामो सयम बितिसक्दा पनि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरेको छैन। प्रहरीलाई सोध्दा “उनीहरू फरार छन्” भनेर जवाफ दिने गरे पनि अभियुक्तहरू गाउँकै वरिपरि खुलेआम हिँडिरहेको उनले बताएका छन् ।

महोत्तरी जिल्ला अदालतले २०८१ साल चैत २० गते रामबाबुको जाहेरीका आधारमा डाँका, ज्यानमार्ने उद्योग र हातहतियार सम्बन्धी मुद्दामा रुपेश महतो, राजाबाबु महतो र अजीत महतोलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटिसकेको देखिन्छ ।