द न्यूज होम
जनकपुरधाम, जेठ २१ गते । माओवादी केन्द्रका धनुषा जिल्ला कमिटी सदस्य तथा चारनाथ नगरपालिका–२ का पूर्व वडा अध्यक्ष एवं हाल वडा अध्यक्षका प्रत्यासी रहेका रामचरित्र साहसहित दर्जनौं अगुवा नेता बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरूलाई प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले धनुषाका जिल्ला इन्चार्ज जुली महतोले पार्टीमा स्वागत गरिन् । जनकपुरधाममा आयोजित कार्यक्रममार्फत नेता महतोले उनीहरूलाई पार्टीको सदस्यता प्रदान गरेकी हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद महतोले नेकपा एमाले नै स्थिरता, विकास र राष्ट्रिय एकताको नेतृत्व गर्न सक्ने पार्टी भएको बताउँदै नयाँ प्रवेशकर्तालाई पार्टीको नीति र कार्यक्रममा समाहित भएर काम गर्न आग्रह गरिन् ।

एमालेमा प्रवेश गर्नेमध्ये अधिकांश नेता माओवादी केन्द्रबाट विभिन्न तहमा सक्रिय भूमिकामा थिए । रामचरित्र साह स्थानीय स्तरमा प्रभावशाली नेता मानिन्छन् भने उनीसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरू पनि चारनाथ नगर र आसपासको क्षेत्रमा राजनीतिक प्रभाव राख्ने व्यक्तित्व रहेको बताइएको छ ।