द न्यूज होम
जनकपुरधाम, जेठ २२ गते । मधेश प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम) मूल्यांकनको अन्तिम चरणमा पुगेको छ । उक्त मूल्यांकन एशियन डेभलपमेन्ट बैंक (एडीवी) को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधिबाट अगाडि बढाइएको हो।

बिहीबार एडीबी प्रतिनिधिमण्डलले मुख्यमन्त्री सतिश कुमार सिंहसँग भेट गर्दै मूल्यांकनको हालसम्मको प्रगति र भावी योजनाबारे जानकारी गराएको हो। टोलीको नेतृत्व एडीबीका निर्देशक श्रीनिवासन जर्नादनमले गरेका थिए ।

छलफलका क्रममा मूल्यांकन प्रक्रिया, प्राप्त नतिजा र सुधारको दिशातर्फको आगामी कार्ययोजनाबारे विचार विमर्श गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, साथै एडीबीका वरिष्ठ अधिकृत जुलिका र कृष्ण पाठकको उपस्थिति थियो ।

प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व, र बजेट कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले पिएफएम मूल्यांकन अघि बढाएको हो ।

नेपालमा गण्डकी प्रदेशले यसअघि नै पिएफएम मूल्यांकन पूरा गरिसकेको छ भने मधेश प्रदेशको मूल्यांकन अन्तिम चरणमा पुगेको एडीबी टोलीले जानकारी दिएको छ ।