द न्यूज होम
जनकपुरधाम, जेठ २२ गते । चुरे तथा वनजंगल संरक्षण अभियानले विश्व वातावरण दिवस २०८२ को अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । दिवसको उपलक्ष्यमा बिहीबार बिहान जनकपुरधामको रेलवे स्टेशनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो भने त्यसपछि वृक्षारोपण गरिँदै वातावरण संरक्षणको सन्देश दिइएको हो ।

कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले वातावरण संरक्षणका लागि वृक्षारोपण अपरिहार्य रहेको बताउँदै “मानिसलाई अक्सिजन दिन वृक्ष मुख्य स्रोत हो, त्यसैले वृक्षारोपणलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाउनुपर्छ,” भने ।
उनले जलवायु परिवर्तनको जोखिमबाट जोगिन वृक्षारोपण नै एकमात्र प्रभावकारी उपाय भएको उल्लेख गर्दै, सरकारले “एक घर, एक वृक्ष” नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे । संयोजक यादवले चुरे दोहन र वन विनाश रोक्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै, “यदि चुरे क्षेत्रमा पुनः वनरोपण नगरिए मधेश मरुभूमी बन्ने खतरा छ,” भनी चेतावनीसमेत दिए ।

कार्यक्रममा अभियानका केन्द्रीय प्रवक्ता प्रमोद कुमार साह, प्रदेश संयोजक अमन यादव, चुरे अभियानी लगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले चुरे संरक्षण र वृक्षारोपणका महत्वका बारेमा धारणा राख्दै वातावरणको सन्तुलन कायम राख्न जनस्तरमै सक्रियता आवश्यक रहेको बताएका थिए ।