द न्यूज होम
जनकपुरधाम, जेठ २३ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आयोजित भेटघाट कार्यक्रमका क्रममा सांसद, नेता तथा कार्यकर्तासँग छुट्टाछुट्टै भेट गरेका देउवाले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सो जानकारी दिएका हुन् ।

“आलोपालोको कुरा त हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ अनि बन्छ,“ देउवाले भने । उनले प्रदेश सरकारमा सहमतिअनुसार कांग्रेसको नेतृत्वमा सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्ने संकेत गरेका हुन् ।

पत्रकारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि अख्तियारले दायर गरेको मुद्दाबारे प्रश्न गर्दा देउवा स्पष्ट बोल्न चाहेनन् । सोधिएको प्रश्नले असहज बनेका देउवाको सचिवालयका सदस्यहरूले कार्यक्रम अघि बढाउँदै त्यस विषयमा जवाफ दिनबाट जोगिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादव लगायतको उपस्थिति थियो ।