द न्यूज होम
जनकपुरधाम, जेठ २३ गते । प्रकृति र संस्कृति संरक्षणको उद्देश्यका साथ जनकपुरधामको पवित्र सरोवर गंगासागरमा आरम्भ गरिएको महागंगा आरतीको ११औं वार्षिकोत्सव भव्य रूपमा मनाइएको छ ।

२०७० साल फागुन ११ गते प्रदेश सांसद तथा सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक अध्यक्ष रामअशिष यादवको परिकल्पनामा सुरु भएको यो आरती कार्यक्रमले ११ वर्ष पुरा गरी १२औं वर्षमा प्रवेश गरेको हो ।

गंगा दशहरा २०७१ सालदेखि नियमितरूपमा संचालन हुँदै आएको महागंगा आरती “क्लिन जनकपुरधाम,ग्रिन जनकपुरधाम” अभियानअन्तर्गत सञ्चालन गरिएको हो, जसले सरसफाइ, धार्मिक पर्यटन प्रवद्र्धन तथा वातावरणीय चेतना अभिवृद्धिमा टेवा पु¥याएको छ ।

सेभ हिस्टोरिकल जनकपुरधामको आयोजनामा दैनिक रूपमा सञ्चालन हुँदै आएको महागंगा आरती अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटकहरू आरती दर्शन गर्न जनकपुरधाममै राति वास गर्ने गरेका छन्, जसले स्थानीय पर्यटन तथा व्यवसायमा पनि सकारात्मक प्रभाव पारेको आयोजकको भनाइ छ ।

महागंगा आरती अभियानको प्रभावले जनकपुरधामका अन्य ऐतिहासिक पोखरीहरूको सौन्दर्यीकरण मात्र नभई, महोत्तरीको मटिहानीस्थित लक्ष्मी सागरमा महालक्ष्मी आरती, हलेसी महादेवमा शिवगंगा आरती, देवघाट, वीरगञ्जको घडिहर्वा पोखरी, पोखराको फेवाताल, चतराधाम, सिरहाको दुर्गा पोखरी, जलेश्वरनाथ महादेव मन्दिर लगायत दर्जनौं धार्मिक स्थलहरूमा विशेष आरती कार्यक्रमको सुरुवात भएको छ ।

नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्षसमेत रहेका सांसद यादवको पहलमा सुरु भएको यो अभियानले मधेश क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासमा ऐतिहासिक योगदान पु¥याएको जनाइएको छ ।