डा राजीव झा
नेपालको दक्षिणी भूभागमा फैलिएको मधेस प्रदेश, ऐतिहासिक, सांस्कृतिक र भौगोलिक दृष्टिले अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । तर, राजनीतिक परिवर्तनका अनेकौँ चरणहरू—बहुदलीय व्यवस्था, प्रजातान्त्रिक व्यवस्था,गणतान्त्रिक व्यवस्था आए तापनि मधेसको आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन। विकासका नाममा हुने योजनाहरूमा मधेस सधैं ’भोट बैंक’ को रुपमा हेरियो, र शासकहरूले यो भूभागलाई सत्ता र शक्ति प्राप्त गर्ने साधन मात्र ठाने।

राजनीतिक दोहन र विफलता
संविधानको नयाँ संरचनाले मधेसलाई प्रदेश २ भनेर चिनाए पनि यहाँको आठ जिल्लामा २०४७ साल देखि अधिकांस ठूला दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले, र विभिन्न कम्युनिस्ट घटकहरूले पालैपालो शासन गरे। तर उनीहरूको शासन कालमा मधेसले केवल राजनीतिक उपेक्षा, शोषण र विभेदको अनुभव ग¥यो। कृषि प्रधान मधेसलाई रोजगारीमुखी उत्पादन प्रणालीतर्फ लैजानुको सट्टा मधेस र मधेसीलाई षड्यन्त्र पुर्बक कमजोर बनाउन निर्वाहमुखी बनाइयो। शिक्षामा योग्यता क्षमता भन्दा राजनीतिक पार्टीका प्रतिनिधि हरुले शिक्षामा न्युक्ती पायो जसकारण गुणस्तर कमजोर रहन पुग्यो, स्वास्थ्य संरचना कागजमा सीमित भयो, र सक्षम युवाहरू रोजगारीको लागी विदेशिन विवश भए।
मधेसका नेताहरू पनि यो व्यवस्था भित्रै समाहित भई जनताको आवाज भन्दा सत्ताको स्वादमा रमाइरहे। यही कारणले गर्दा आज मधेसमा नयाँ वैकल्पिक राजनीतिक शक्ति र नेतृत्वको खोजी भइरहेको छ—जो केवल भोट खोज्न होइन, समस्या समाधान गर्न तयार होस्।

विकासको यथार्थ र चुनौती
मधेस प्रदेशमा नदी, वन, जल, जंगल,बालुवा, गिट्टी जस्ता प्राकृतिक सम्पदा प्रशस्त छन्। तर, ती सम्पदाको ठुला पार्टीहरुको संरक्षणमा दोहन हुने गरेको छ, संरक्षण र दीर्घकालीन उपयोगको सोच छैन। धेरै ठूला नदीहरू जस्तै कमला, बागमती, लखनदेई आदिले उब्जाउ जमिन दिन्छन्, तर ब्यबस्थापनको बिना तिनकै कारण बाढी र डुबानले जनधनको क्षति भैरहेको छ। जल व्यवस्थापनमा वैज्ञानिक योजना, सिँचाइ प्रणालीको आधुनिकीकरण र कृषिमा प्रविधि प्रयोग नगरेसम्म मधेसको विकास सम्भव छैन।

आत्मनिर्भर मधेसको सम्भावना
मधेसको दिगो विकास तीन आधारमा हुनसक्छः शिक्षा, स्वास्थ्य र कृषि।
१. शिक्षा
मधेसमा सामुदायिक विद्यालयहरूको अवस्था कमजोर छ। शिक्षालाई रोजगारमुखी बनाउने, प्राविधिक तथा व्यवसायिक शिक्षा दिने, मातृभाषामा शिक्षाको प्रवद्र्धन गर्ने र क्ष्ऋत् (क्ष्लायचmबतष्यल ७ ऋयmmगलष्अबतष्यल त्भअजलययिनथ) को प्रयोग बढाउने हो भने मधेसी युवाहरु स्वदेशमै स्वरोजगार पाउन सक्छन्।
२. स्वास्थ्य
स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारको लगानी बढाउन जरुरी छ। जिल्लास्तरमा अत्याधुनिक अस्पताल स्थापना, स्थानीय तहमा स्वास्थ्यकर्मीको उपस्थिति सुनिश्चित गर्ने र सस्तो तथा गुणस्तरीय औषधिको पहुँच आवश्यक छ। विदेशी उपचारको निर्भरता घटाएर स्वदेशमै गुणस्तरीय सेवा दिने प्रणाली विकास गर्न सकिन्छ।
३. कृषि
मधेसको उब्जाउ जमिन र श्रमशक्ति समृद्ध छ। जैविक खेती, आधुनिक उपकरणहरूको प्रयोग, कृषि सहकारीको मजबुती, र बजारीकरणमार्फत कृषि आत्मनिर्भरता सम्भव छ। आयातमा निर्भरता घटाउँदै निर्यातमुखी कृषि नीति निर्माण आवश्यक छ। साथै, किसानका लागि बीमा, सहुलियत ऋण, र कृषि अनुसन्धान केन्द्रहरू स्थापना अनिवार्य छन्।
निष्कर्ष
मधेसले अब केवल पुराना पार्टीहरूको प्रतिक्षा गर्नु पर्ने छैन। मधेसी जनताको आत्मसम्मान, अधिकार र समृद्धिका लागि वैकल्पिक सोच, नीति र नेतृत्वको आवश्यकता छ। आत्मनिर्भर मधेसको सपना केवल सम्भावना होइन, एउटा जरूरी यथार्थ हो जसको थालनी शिक्षा, स्वास्थ्य र कृषि सुधारबाट गर्न सकिन्छ।
यस युगले मधेसलाई आफ्नै नेतृत्वमा विश्वास गर्न सिकाइरहेको छ—जहाँ विकास, समानता र पहिचानको रक्षा एकसाथ सम्भव छ। अबको मधेस, आफूले चुनेको बाटोमा, आफ्नै हैसियतमा अगाडि बढ्ने छ। लेखक नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष हुन् ।