द न्यूज होम
वीरगंज,जेठ २६ गते । मन्सुन र त्यससँग सम्बन्धित प्राकृतिक तथा मानवजन्य विपदहरूको जोखिमलाई मध्यनजर गर्दै “समुदाय विपद स्वयंसेवक परिचालन आधारभूत तालिम“ वीरगंजमा सुरु गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा वीरगंज महानगरपालिकाको संयोजनमा आयोजित यस तालिममा वीरगंज महानगरपालिका अन्तर्गतका ३० जना स्थानीय प्रशिक्षार्थीहरू सहभागी छन् । २१ कार्यदिने यो तालिमले विपद् उद्धार कार्यमा समुदायस्तरको सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह थिए। विशिष्ट अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष बृजकिशोर पटेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले गरेका थिए ।

१३ गणका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई तालिमको बारेमा जानकारी दिदै, “यस तालिमबाट स्थानीय स्वयंसेवकहरू विपद् व्यवस्थापन र उद्धार कार्यमा सक्षम हुनेछन्, जसले भविष्यमा समुदायको सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ,” भने ।

तालिमका सहभागीहरूले विपद् पूर्वतयारी, जोखिम मूल्यांकन, प्राथमिक उपचार, उद्धार विधि, र समन्वयात्मक अभ्यासजस्ता विषयमा प्रशिक्षण पाउनेछन्।

यस तालिमले विपद् व्यवस्थापनमा स्थानीय स्तरमै सक्षम जनशक्ति तयार पार्न ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।