द न्यूज होम
जनकपुरधाम,जेठ २९ गते ।अहमदाबाद विमानस्थलमा आइतबार एयर इन्डियाको ‘बी–७८७ ड्रिमलाइनर’ विमान दुर्घटनामा परेको छ । विमानमा २४२ यात्रु सवार थिए । जहाजले धावनमार्ग छाडेर करिब ६२५ फिटको उचाइमा पुग्नासाथ अचानक तीव्र गतिमा खस्दा ठूलो दुर्घटना भएको हो । प्रारम्भिक रिपोर्टअनुसार विमान प्रति मिनेट ४७५ फिटको गतिमा खसेको थियो ।

दुर्घटनापछि विमानस्थलमा आकस्मिक उद्दार कार्य तीव्र पारिएको छ भने सम्पूर्ण उडान सेवा अस्थायी रूपमा बन्द गरिएको छ । भारत सरकारका सबै सम्बन्धित निकायहरू उच्च सतर्कतामा राखिएका छन् ।

दुर्घटनामा परेको जहाज अमेरिकी विमान निर्माता कम्पनी बोइङले उत्पादन गरेको बी–७८७–ड्रिमलाइनर हो। यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ रहेको छ ।
यस जहाजले पहिलो सफल परीक्षण उडान २०१३ डिसेम्बर १४ मा गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यसलाई भारतको एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।

अहमदाबाद विमानस्थल समुद्र सतहदेखि २०० फिट उचाइमा अवस्थित छ। जहाजले धावनमार्ग छाडेको दुई मिनेट नहुँदै अनियन्त्रित भएर खसेको थियो । करिब ६२५ फिटको उचाइमा पुगेपछि विमान खस्न सुरु भएको र त्यस क्रममा प्रति मिनेट ४७५ फिटको दरले झरेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

विमान दुर्घटनाको खबर प्राप्त भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडुसँग टेलिफोन संवाद गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार, मोदीले तुरुन्त राहत, उद्धार र स्वास्थ्य सहायता उपलब्ध गराउन निर्देशन दिएका छन् । साथै, घटनाको नियमित अद्यावधिक जानकारी लिने पनि बताइएको छ ।

मन्त्री रममोहन नायडु घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् र उद्धार तथा राहत कार्यको निरीक्षण गर्नेछन् । इन्डिया टुडेले उद्धृत गरेको मन्त्री कार्यालयको भनाइअनुसार, सम्पूर्ण प्रक्रिया समन्वयमा भइरहेको छ ।

दुर्घटनापछि अहमदाबाद विमानस्थलमा समस्त उडान सेवा तत्कालको लागि बन्द गरिएको छ । आकस्मिक उद्धार कार्यका लागि सेना, राष्ट्रिय विपद् प्रतिक्रिया बल , स्थानीय प्रशासन र स्वास्थ्यकर्मीहरू परिचालित छन् ।

विमानमा २४२ यात्रु सवार थिए भने चालक दलका सदस्यहरूको सङ्ख्या अझै खुलाइएको छैन। केही यात्रु घाइते भएको पुष्टि भएको छ, तर विस्तृत विवरण प्रतिक्षारत छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।