द न्यूज होम
जनकपुरधाम,जेठ ३० गते । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा–जवाहरात तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग गर्दै जनकपुरधाममा सुनचाँदी व्यवसायीहरुले आज संयुक्तरूपमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ धनुषा र जनकपुरधाम सुनचाँदी व्यवसायी संघको संयुक्त आयोजनामा आयोजित विरोध कार्यक्रममा “संपूर्ण सुनचाँदी व्यवसायी तथा उपभोक्ताको हक हितका लागि हामी विरोधमा छौँ“ भन्ने नारा सहितको जुलुस जनकपुरधामको सोनारपाटीबाट सुरु भई नगर परिक्रमा गरिएको थियो ।

व्यवसायीहरुले सरकारको हालको कर नीतिले व्यवसाय ध्वस्त हुने खतरा रहेको भन्दै उपभोक्ता, कर्मचारी, कालिगढ तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न तत्काल कदम चाल्न सरकारसमक्ष माग गरेका छन् ।

विरोध कार्यक्रममा सयौँको संख्यामा व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले अविलम्ब कर नीतिको पुनरावलोकन गर्न सरकारलाई चेतावनी दिएका छन् ।