द न्यूज होम
महोत्तरी, असार २ गते । मधेश प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको आर्थिक करिडोर कार्यालय, बर्दिबासको अनुदान सहयोगमा प्रदेशभर पशुपालक किसानले दुधालु मुर्रा जातका भैंसी पालन गर्न थालेपछि यस्तो प्रगति देखिएको हो ।

आयोजनाले पूर्व–पश्चिम राजमार्ग र हुलाकी मार्गले छोएका ८४ वटा स्थानीय तहलाई लक्षित गर्दै कार्यक्रम संचालन गरेको छ। ती स्थानीय तहमा पाँच हजारभन्दा बढी किसान १७९ वटा समूहमा आबद्ध छन् । तीमध्ये व्यावसायिक कार्ययोजना बनाएका ११० समूह अनुदान प्रक्रियामा छनोट भइसकेका छन्। हालसम्म ५८ समूहलाई अनुदानको पहिलो किस्ता उपलब्ध गराइएको छ, जसमा ५० समूहले मुर्रा जातको भैंसीपालनका लागि योजना अघि बढाएका छन् ।

आयोजना प्रमुख राजेश साहका अनुसार, दूध, मासु तथा सागसब्जी उत्पादनका योजनालाई प्राथमिकतामा राखिएको छ । “५० समूहका किसानले मुर्रा भैंसीपालन सुरु गरेका छन्, जसले मधेशलाई दूधमा आत्मनिर्भर बनाउने हाम्रो अपेक्षा छ,” उनले बताए। मासु उत्पादन प्रयोजनका लागि पनि व्यावसायिक योजना अघि बढिरहेको उनले जानकारी दिए ।

भैंसीपालन अघि बढाउनु अघि किसान समूहहरूले दूधको बजार, खरिदकर्ता र मूल्य निर्धारणमा सहमति गरेका छन्। भैंसीपालनको कार्ययोजना अनुसार प्राविधिकको निगरानीमा आधुनिक गोठ निर्माण गरिएको छ। मुर्रा जातका भैंसीहरूले दैनिक औसतमा २५ लिटरसम्म दूध दिने क्षमता राख्छन् । सिरहाका किसान दिनेश साहका अनुसार, “हामीले पहिले नै दूधको बजार र मूल्यबारे सम्झौता गरिसकेका छौँ, अब ढुक्क भएर उत्पादन गर्न सकिरहेका छौँ ।”

रौतहट जिल्लामा सबैभन्दा बढी २४ वटा किसान समूह रहेका छन्। एक समूहमा १५ देखि ५० जना किसान आबद्ध छन् । हालसम्म यी समूहमा १,४०० भन्दा बढी किसान आवद्ध भइसकेका छन्, जसबाट दैनिक २० हजार लिटर दूध उत्पादन भइरहेको छ । एक किसानले मासिक औसत रु २४ हजार आम्दानी गरिरहेका छन् । आयोजनाले प्रत्येक कार्ययोजनामा कुल लागतको ४५ प्रतिशत अनुदान प्रदान गर्ने र बाँकी ५५ प्रतिशत लागत किसान समूहले व्यहोर्ने व्यवस्था मिलाइएको छ।

यसअघि आयोजनाले पशुपालक किसानलाई सेवा पु¥याउन अत्याधुनिक ३५ वटा एकीकृत सेवा केन्द्र निर्माण गरिसकेको छ, जसमा माटो परीक्षण, प्राङ्गारिक खेती, गोबर परीक्षण, पशु उपचार, तथा प्राविधिक सल्लाह सेवा उपलब्ध छन् । करिब रु ९१ करोडको लागतमा निर्माण गरिएका ती सेवा केन्द्रले मधेशको कृषि तथा पशुपालन क्षेत्रलाई प्रविधि र व्यवसायिकताको दिशामा अगाडि बढाउन महत्वपूर्ण योगदान दिइरहेका छन् ।