द न्यूज होम
जनकपुरधाम,असार ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्सामा अधिकृत (आठौं तह) पदमा कार्यरत रहँदै आएका कमल राज गौतमविरुद्ध आयोगले रु. २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार कमल राज गौतमले सार्वजनिक पद धारण गरेको मिति २०५५ साल वैशाख ७ गतेदेखि २०७९ साल चैत २४ गतेसम्म को अवधिमा उनले प्राप्त गर्ने वैधानिक आम्दानीको सम्पूर्ण विवरण संकलन र विश्लेषण गरिएको थिया । जसमा पारिश्रमिक, भत्ता, पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको तलब, भ्रमण भत्ता, घर÷जग्गा बिक्री आय, सञ्चय कोष, बैंक तथा जनक शिक्षा सामग्री केन्द्रबाट लिएको ऋण, शेयर बिक्री आय, सवारी साधन बिक्री आय, बीमा परिपक्वता, कृषि आम्दानी, घर भाडा तथा बैंक ब्याजसमेत समावेश गरिएको थियो ।

उनको कूल वैधानिक आय रु. २ करोड ८९ लाख २० हजार २६८ रुपैयाँ १८ पैसा मात्र रहेको पाइएको छ । तर सोही अवधिमा उनले तथा उनको एकासंगोल परिवारले घर निर्माण, जग्गा खरिद, गाडी किनबेच, बीमा प्रिमियम, अध्ययन खर्च, शेयर खरिद, सुन किन्नेसम्म गरी कूल रु. ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ ८९ पैसा बराबरको खर्च तथा लगानी गरेको देखिएको छ ।

उनले कूल आयभन्दा रु. २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा बढी खर्च गरेका छन्, जुन कुनै कानुनी स्रोतबाट पुष्टि हुन सकेन । यस आधारमा अख्तियारले गौतमले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको बताएको छ ।

गौतममाथि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम भ्रष्टाचारको कसूरमा मुद्दा दायर गरिएको छ । आयोगले अभियोग प्रमाणित भएपछि उनलाई कानून अनुसार कैद सजाय र बिगोबमोजिम जरिवानाको माग पनि गरेको छ । साथै, उनले पदमा बहाल रहँदा वार्षिक सम्पत्ति विवरण पेश गर्दा वास्तविक सम्पत्ति लुकाएर झुठा विवरण प्रस्तुत गरेको पनि पुष्टि भएकाले, दफा १६ (२) बमोजिम थप कारबाही माग गरिएको छ ।

कमल राज गौतमले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती सरला नेपालको नाममा सम्पत्ति खरिद गरी राखिएको पनि पाइएको छ । त्यसैले, अख्तियारले सरला नेपाललाई सम्पत्ति जफतको प्रयोजनका लागि प्रतिवादीको रूपमा मुद्दामा समावेश गरेको छ ।

अख्तियारले मुद्दा दायर गर्दै गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न, कैद सजाय र जरिवाना गराइदिनुका साथै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न कडा सन्देश दिनुपर्ने माग राखेको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, “सम्पूर्ण कानुनी विश्लेषणसहित विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको छ ।”