द न्यूज होम
जनकपुरधाम,असार ३ गते । भारतको अहमदाबादमा बिहीवार भएको भीषण विमान दुर्घटनामा एकमात्र जीवित यात्रुका रूपमा बचेका विश्वासकुमार रमेशले आफू कसरी बाँच्न सफल भए भन्ने कुरा अझै विश्वास गर्न सकिरहेका छैनन् । बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा २४२ यात्रुमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने विश्वासकुमार मात्र गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत छन् ।

भारतीय अधिकारीहरूले दुर्घटनाको अनुसन्धानलाई तीव्रता दिँदै डिजिटल भिडियो रेकर्डर फेला पारेका छन् भने विमानको ब्ल्याक बक्स अझै खोजी भइरहेको छ । ब्ल्याक बक्स फेला परेपछि दुर्घटनाको वास्तविक कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ ।

एअर इन्डियाको एआई १७१ उडान संख्या बोकेको विमान अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै दुर्घटनामा परेको थियो। उडेको एक मिनेट नपुग्दै विमान एक अस्पतालको प्रशिक्षार्थी डाक्टरहरूको होस्टलमा खसेको जनाइएको छ । दुर्घटनाका कारण जमिनमा पनि ठूलो क्षति पुगेको छ। कम्तीमा ५० मेडिकल विद्यार्थी घाइते भएको र पाँचजना अझै हराइरहेका छन् ।

विमानको ११ए सिटमा रहेका विश्वासकुमार रमेश घाइते अवस्थामा दुर्घटनास्थलबाट उद्धार गरिएका थिए। सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा उनी एम्बुलेन्सतर्फ हिंडिरहेको देखिन्छन्, पछाडि बाक्लो धुवाँ देखिन्छ । भारतीय गृहमन्त्री अमित शाहले अस्पताल पुगेर विश्वासकुमारको अवस्था बुझेका थिए । उपचाररत चिकित्सक डा. धवल गामेटीका अनुसार, “उनको शरीरभरि घाउ छन्। उनी अलि होसमा छैनन् तर खतरामुक्त छन् ।”

यूकेको लेस्टरस्थित विश्वासकुमारको घरमा शोकमग्न वातावरण छ। उनका भाइ नयनकुमारले भने, “हामीले जब यो खबर सुनीयौँ, हामी स्तब्ध भयौँ। विश्वासकुमारले आफू कसरी विमानबाट बाहिर निस्किए भन्ने आफूलाई पनि थाहा छैन भन्ने बताएका छन् ।”
घाइते अवस्थामा रहेका विश्वासकुमारले आफ्ना परिवारलाई फोन गर्दै हराइरहेका भाइ अजयको खोजी गर्न भनेका थिए । “उनले फोनमा बारम्बार भने, अजयलाई खोज, अजयलाई खोज,” नयनकुमारले बताए ।

दुर्घटनामा मृत्यु हुने धेरै यात्रुको शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकाले सनाखत गर्न डिएनए परीक्षण भइरहेको छ । भारतीय प्रहरीले हालसम्म छ जनाको शव चिनिएको र उनीहरूका परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ ।

गृहमन्त्री शाहले डिएनए परीक्षणपछि मात्र मृतकहरूको आधिकारिक सङ्ख्या सार्वजनिक गरिने बताएका छन्। एअर इन्डियाले भने, “हाम्रा सबै आगामी कदम पीडित र उनीहरूका परिवारको आवश्यकतामा केन्द्रित हुनेछन् ।” साथै, दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने पनि एअर इन्डियाले जनाएको छ ।