द न्यूज होम
जनकपुरधाम, असार ५ गते । सवैला नगरपालिका–१०, खरिहानीका प्रेमकिशोर साहको मृत्यु भएको दुई वर्ष बितिसक्दा पनि उनका परिवारजन अझै न्यायका लागि भौतारिइरहेका छन् । ११ हजार भोल्टेजमा झुण्डीएको सुविसु इन्टरनेटकोे तारमा सटिएर ज्यान गुमाएका प्रेमकिशोरकी पत्नी मनिता साहले न्याय नपाएको भन्दै न्यायको पहलका लागि आह्वान गरेकी छन् ।

वि.सं. २०८० असार २२ गते, प्रेमकिशोर साह खरिहानी बजारमा रहेको आफ्नै हार्डवेयर पसल बन्द गरी साँझ घर फर्किरहेका थिए । घर नजिकै सडकमा अलपत्र झुण्डिरहेको इन्टरनेटको तारमा सटिएर उनको तत्कालै मृत्यु भयो । पिडीत परिवारका अुनसार घटनास्थलमा करेन्ट प्रवाह भइरहेको ११ हजार भोल्टेजको तार सुविसु इन्टरनेट कम्पनीको रहेको पुष्टि भए पनि, अहिलेसम्म न त कुनै छानबिन अघि बढाइएको छ, न क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

जनकपुरधाममा विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मनिता साहले भनिन्, “मेरो पति, मेरो दुई सन्तान (१० र ८ वर्ष) र मेरा सासु–ससुराको आश्रय थिए । उहाँको मृत्युले हाम्रो जीवन नै संकटमा परेको छ । दुई वर्षदेखि इलाका प्रहरी कार्यालयदेखि लिएर जिल्ला प्रशासन कार्यालयसम्म धाइरहेकी छु, तर न्याय आश्वासनमै सीमित छ ।”

उनका अनुसार, सुविसु इन्टरनेट कम्पनीको लापरवाहीकै कारण तार झुण्डिरहँदा पनि समयमै मर्मत नगरेकोले दुर्घटना भएको हो । “यदि तार बाँधिएको हुन्थ्यो भने आज मेरो पति जीवित हुन्थे,” उनको गुनासो थियो ।

मृतकका पिता मुंजेश्वर साहका अनुसार, घटना भएपछि स्थानीय टोलबासी र व्यवसायीहरूले संयुक्तरूपमा प्रशासनलाई दवाब दिएका थिए । जनकपुरधामसम्म पुगेर आन्दोलनसमेत गरियो । “तर दुःखको कुरा, प्रहरी प्रशासनले फाइल दर्ता त ग¥यो तर निष्कर्ष निकाल्न सकेन,” उनले भने ।

उनका अनुसार, सवैला इलाका प्रहरी कार्यालयमा तीनजना इन्सपेक्टर परिवर्तन भइसकेका छन्, तर कोही पनि मुद्दालाई निष्कर्षमा पु¥याउने प्रयासमा लागेनन् ।

मनिता साह भन्छिन्, “मेरो पति हार्डवेयर व्यवसायी थिए, त्यसैले जनकपुरधाम उद्योग वाणिज्य संघले पनि यस घटनामा चासो देखाउनुपर्छ ।” उनले क्षतिपूर्ति नपाएसम्म संघर्ष जारी राख्ने बताउँदै भनिन्, “मेरा सन्तानहरू अझै साना छन्, पढाइ कसरी गराउने, जीवन कसरी चलाउने? सबैले बुझिदिनुपर्छ ।”

पीडित परिवारले सञ्चारमाध्यम, व्यवसायी, नागरिक समाज, राजनीतिक दल र प्रशासनिक निकायसँग घटना छानबिन गरी जिम्मेवार पक्षलाई कारबाही गर्न तथा तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । “इन्टरनेट कम्पनीको लापरवाहीले मानवीय ज्यान गएको छ, यो मुद्दालाई टार्न खोज्नु कानुनी र नैतिक दुवै दृष्टिले आपत्तिजनक छ,” मनिता साहको भनाइ थियो ।