द न्यूज होम
जनकपुरधाम, असार ९ गते । “सहानुभूति होइन, माया र सम्मान गर” भन्ने मूल नाराका साथ जनकपुरधाममा सोमबार १५औं अन्तर्राष्ट्रिय एकल महिला दिवस विविध कार्यक्रमसहित मनाइएको छ ।

कार्यक्रममा एकल महिला सुरक्षा कोषको विषयमा संवाद तथा छलफल गर्दै सहभागीहरूले एकल महिलाहरूको हक, अधिकार तथा सुरक्षाको सवालमा स्थानीय र प्रदेश सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

मानव अधिकारको लागि महिला–एकल महिला समूह धनुषाकी अध्यक्ष सुभद्रा आलेले सरकारको बेवास्ता र नीतिगत कमजोरीले एकल महिलाहरू थप पीडित बनेको बताइन् । उनले भनिन्, “एकल महिलाहरूलाई सहानुभूतिको होइन, आत्मसम्मानका साथ मायाँ र सम्मान दिइनुपर्छ । उनीहरूको आत्मनिर्भरता सुनिश्चित गर्ने कार्यक्रम आवश्यक छ ।”

नेपाल पत्रकार महासंघ, धनुषा शाखाको सभाहलमा आयोजित कार्यक्रममा, एकल महिलाहरूको सामाजिक, आर्थिक र मानसिक अवस्थाबारे गहिरो छलफल गरिएको थियो । समूहका प्रतिनिधिहरूले सहभागीहरूसँग संवाद गर्दै एकल महिलाहरूका लागि शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत विषयमा कार्यक्रम ल्याउन माग गरे ।

कार्यक्रममा सहभागिहरूले आगामी दिनमा एकल महिलाको सशक्तीकरणका लागि ठोस योजना र नीतिहरू लागू गर्न सरकारलाई दबाब दिन पनि संकल्प व्यक्त गरेका थिए ।