द न्यूज होम
जनकपुरधाम,असार ९ गते ।मधेश प्रदेश सरकारले हालै नियुक्त गरेको मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको इजलासले उनलाई ६ महिनाको कैद र जरिवानासहितको सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र केएस मल्टिपर्पसका सञ्चालक उपाध्यायलाई दोषी ठहर गर्दै जनही ६–६ महिना कैद र एक लाख १७ हजार रुपैयाँभन्दा बढी जरिवाना गर्ने फैसला सुनाएको हो ।

साथै, केएस मल्टिपर्पस प्रालिलाई पनि सजाय सुनाइएको छ भने पीडित राहत कोषमा तीनै प्रतिवादीबाट ४७ सय रुपैयाँ भराउने आदेश दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ वैशाख ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा उपाध्याय, यादव र कम्पनीसँगै लेखापाल हसिम मियाँ पनि प्रतिवादी थिए। तर मियाँलाई भने अदालतले दोषमुक्त गरेको छ, कारण — “उनले हाकिमको आदेशअनुसार काम गरेका थिए र प्रत्यक्ष संलग्नता पुष्टि भएन ।”

विशेष अदालतको फैसलामा पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐन मिचेर कम रकमको ठेक्का केएस मल्टिपर्पसलाई दिइएको, र ठेक्काको सूचना केवल एकप्रति मात्र प्रभाव दैनिकमा प्रकाशित गरेर झुठा प्रक्रिया अपनाइएको उल्लेख छ ।

उक्त प्रक्रिया मिलेमतोका आधारमा गरिएको र उपाध्याय समेतको संलग्नतामा भ्रष्टाचार भएको अदालतको ठहर छ ।